स्वास्थ्य साम्रगी खरिदमा अनिमियताका कुरा उठेकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘कहीँकतै यदि अनिमियता भएको छ भने सरकारले कारबाही गर्छ । यस सरकारले कुनै प्रकारको अनिमियतता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरुलाई सहँदैन । त्यस्तोमा कारबाही गर्छ नै, मा छानबिन गर्छ । कानूनको कठघरमा उभ्याउछ । र, दोषी पाइएमा दण्ड गर्छ नै । म माननीयज्यूहरुलाई आश्वस्त पार्न चाहन्छ ।’

प्रम ओलीले काेराेना नियन्त्रणमा भएकाे १० अर्ब खर्चमाथि उठेका प्रश्नकाे समेत जवाफ दिनुभएकाे छ । ‘मान्यज्यूहरुले १० अर्ब केमा खर्च भयो भनेर प्रश्न पनि उठाउनुभएको छ । त्यसको आफ्नै एउटा प्रणली छ,’ उहाँले भन्नुभयाे, ‘केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउछ । प्रदेश र स्थानीय तह र केन्द्र गरी अहिले तीन तह छ यो सरकारकाे । अनि दिनैपिच्छे लेखा परीक्षण हुँदैन । अहिले कामका बेला हामी लेखा परीक्षणतर्फ बढी केन्द्रित पनि भएका छैनौँ । अहिले काममा बढी केन्द्रित छौँ ।’

सरकारकाे यस्तो काममा अविश्वासबाट गर्नुपर्ने अवस्था नरहेकाे उहाँकाे भनाइ छ । ‘हाम्रा सरकारहरु, स्थानीय तहहरु भ्रष्टाचार गर्नैका लागि भनेर पर्खेर बसेका थिए र अलिकति रकम पाउनेवित्तिकै भ्रष्टाचार नै गरे होलान् भनेर आशंका गर्नुपर्ने त्यो स्थिति छैन,’ उहाँले जवाफ दिँदै भन्नुभयाे, ‘अहिले स्थानीय तहहरु बरू मेहनतका साथ, जुन दु:खका साथ फिल्डमा खटिएका छन्, कोरोनाभाइरसको विरुद्ध लड्न र जनतालाई राहत, सहयाेग पुर्याउनका लागि ।’

उहाँले थप भन्नुभयाे, ‘छलफलको क्रममा कतिपय मान्यज्यूहरुले उठाउनुभएको छ । यो यो तहका मान्छेहरु पनि भ्रष्टचारमा संलग्न देखिनु अनौंठो हो भनेर । अँ अलिकति अनौठो हो, पहिले पहिले देखिँदैथियो । भ्रष्टाचार चाहिँ भइरहने तर कारबाही नहुने र नदेखिने । अहिले चाहिँ कसैले कही केही गरेको थाहा पाइयो भने कारबाही हुन्छ, त्यसकारण देखिहाल्छ । त्यो धेरै अनौठो होइन कि पहिलेको भन्दा अलिक फरक चाहिँ हो । त्यसमा कारबाही हुँदैन भन्ने कुरा चाहिँ हुँदैन, जोसुकैलाई कारबाही हुन्छ । यसरी बुझ्नको लागि आग्रह गर्न चाहन्छु ।’