करेन्ट लागेर दुवै हात गुमाएकी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धारकी कृशिखा विकको उपचार र शिक्षादिक्षाका लागि यूकेबाट ८ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ।

घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफरबाट करेन्ट प्रवाह भई गम्भीर घाईते अवस्थामा किर्तीपुर हस्पिटलमा उपचारको क्रममा अबोध बालिकाको कुमबाटै हात काटेर फालिएपछि उपचार, पालनपोषण, शिक्षा–दिक्षाका लागि ८ लाख ७६ हजार ७४१ रुपैयाँ यूकेमा संकलन गरिएको तुलचन्द्र तिलिजाले बेनीअनलाइनलाई बताउनुभयो ।

‘कोरोनाको त्रासका बिचमा हामीले एउटी अवोध बालिकाको उपचारमा आवश्यक आर्थिक जुटाउन सफल भएका छौ,‘दुई हात गुमाउँदा हामीलाई पनि चसक्क दुखेको छ’ तिलिजाले भन्नुभयो ।

सहयोग संकलन अभियानमा यूकेमा रहेको पाउद्धारी समाजले २ लाख ५२ हजार ७७८, खिवाङी समाज यूके २ लाख २७ हजार ७७ रुपैयाँ, पाउद्धार घर भई हाल यूकेमा रहेका तुलचन्द्र तिलिजाले ३ लाख ९६ हजार ८८५ रुपैयाँ गरी कुल ८ लाख ७६ हजार ७४१ सहयोग प्राप्त भएको कृशिाखा परिवारले जनाएका छन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको समाचार बेनीअनलाइनले प्रकाशित गरेको थियो ।

कृशिकाकी आमा शुसिलाले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगलाई छोरीको शिक्षादिक्षामा खर्च गर्ने बताईन् । ‘सबै सहयोग बैंकमा छ, उपचारबाट बचेको सहयोगलाई छोरीको भविस्यमा खर्च गर्छु’ उनले भनिन्। उनले उपचारमा आर्थिक, भौतिक लगायत विभिन्न सहयोग गर्नेलाई धन्यवाद दिदैं छोरीको अवस्था समान्य हुदै गएको बताईन् ।