सोती ह’त्याकाण्ड संघर्ष समितिले ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका- ८ सोतीमा जेठ १० गते भएको घटनालाई तोडमोड गर्न खोजिएको भन्दै ६ षडयन्त्र सार्वजनिक गरेको छ । अन्तर्जातीय प्रेम सम्बन्धका कारण भएको घटनामा चलखेल हुन थालेको भन्दै घटनाको केही दिनपछि जाजरकोटमा गठन गरिएको संघर्ष समितिले पत्रकार सम्मेलन मार्फत घटनालाई तोडमोड गर्ने ६ षडयन्त्र सार्वजनिक गरेको हो ।

घटनालगत्तै तत्काल सुरक्षाकर्मी परिचालन र बस्ती सिल किन गरिएन ?

समतिले पश्चिम रुकुमको चौरजहारीबाट गएको घटनाको प्रत्यक्षदर्शी नेपाल प्रहरीले घटनालाई नियन्त्रणका लागि कुनै प्रयास नगरेको, सोतीका स्थानीयले भेरी नगरपालिका- ४ का नवराज विकसहित ६ जना युवाको ह’त्या गरेको र अन्य १२ जनालाई घाइते बनाउँदा पनि प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ । त्यस्तै १२ युवालाई घाइते अवस्थामै पक्राउ गरी नियन्त्रणमा लिएको तर आक्रमणकारीलाई घटनास्थलमै छाडिएको र घटना घटेको २० घण्टा सम्म पनि प्रहरी घटनास्थलमा नआउनुलाई समितिले प्रहरीको गम्भीर त्रुटी र षडयन्त्र भनेको छ ।

घटनापश्चात रुकुमका प्रहरी अधिकारी किन परिवर्तन गरियो ?

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक जिल्ला बाहिरबाट ल्याईनु र डिएस्पीको दरबन्दी रहेको जिल्लामा एसएसपीको नेतृत्वमा अनुसन्धान थालिनु कतै राजनैतिक हस्तक्षेप र घटनालाई तोडमोड गर्ने प्रयास त होइन भन्दै समितिले प्रश्न उठाएको छ ।

सर्जिमिन मुचुल्कामा किन फरक ?

घटनाकाे सर्जिमिन मुचुल्का र पोष्टमार्टममा सबै विवरण पीडित परिवार र शव उद्धारमा खटेका स्थानियको बुझाइ र देखाइभन्दा फरक कुरा उल्लेख गरिनु पनि घटनालाई तोडमोड गर्ने षडयन्त्रका रुपमा समितिले प्रेस नोटमा उल्लेख गरेको छ ।

शवको तत्काल पोष्टमार्टम किन गरिएन ?

शुरुमै प्राप्त शव पोष्टमार्टम गर्न ढिलाइ हुँदा आवश्यक प्रमाण नष्ट भएको आशंका गरिएको छ । साथै तत्काल पोष्टमार्टम गर्न सरकारी पक्षले खासै पहल नगरेको भन्दै यसलाई पनि समितिले षडयन्त्रकै रुपमा लिएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए ।

सरकारी निगरानी खोई ?

सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले घटनालाई तोडमोड गर्ने, पीडितलाई झन पीडा दिने र पीडकलाई प्रोत्साहित गर्ने अभिव्यक्ति दिँदा पनि राज्यको तर्फबाट स्पष्ट धारणा सार्वजनिक नहुनु, उनीहरुलाई कारवाही नगरिनु र शसस्त्र बलका गोताखोरका टोली प्रमुख सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले गोविन्द सुनारको शव हात बाँधिएको अवस्थामा देख्दादेख्दै होइन भनेर सोही अनुसारको मुचुल्का तयार पार्नुमा पनि षडयन्त्र रहेको समितिको ठहर छ ।

मानवीयता भुल्न मिल्छ ?

पीडित परिवारलाई अनावश्यक सोधपुछ तथा बयान लिएर झनै तनावमा पारिएको, बयान लिन रुकुम बाेलाउने गरिएको, सुरक्षाको प्रबन्ध हुन नसकेको र त्रासका बीच रुकुम गएर पीडितले बयान दिनुपर्ने कुरालाई पनि घटनालाई तोडमोड गर्ने षडयन्त्रकै रुपमा समितिले लिएको संयोजक शाहको भनाई छ ।

अन्तरजातीय प्रेमलाई सोतीका मल्ल ठकुरीले स्वीकार गर्न नसक्दा भएको घटनामा ६ जनाको ह’त्या हुनु जातीय अहंकार, विभेदजन्य चेतना समेतका कारण सुनियोजित रुपमा मानवता कलंकित हुने गरी घटनाका रूपमा समितिले लिएकाे छ । यो ह’त्या क्रुर, बर्बर, अमानवीय, मानवता विरोधी कार्य रहेकाे समितिको निष्कर्ष छ ।

न्यायको लागि संघर्ष जारी

समितिले घटनालगत्तै जाजरकोट सदरमुकाममा दैनिक नाराबाजीसहित प्रर्दशन गर्दै आएको छ । घटनालाई राजनीतिकरण गरेर तोडमोड हुन सक्ने भन्दै पीडितको न्यायको लागि दिनहुँ खवरदारीका कार्यक्रम गरिरहेको संघर्ष समितिका सहसंयोजक छवि पन्तले बताए ।

समितिले घटनाको निष्वक्ष अनुसन्धान, दोषीलाई हदैसम्मको कारवाही, पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्ने, घाईतेको नि:शुल्क उपचार गर्नुपर्ने लगायतका माग गर्दै आएको छ । समितिले जाजरकोट र पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकारी मार्फत घटनाको निस्पक्ष अनुसन्धानका लागि सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पीडित परिवारले पनि घटना राजनीतिकरण हुन सक्ने आशंका गरेका छन् । ‘ह-त्यारालाई कारवाही हाेस् र न्याय नमरोस्,’ नवराजकी आमा उर्मिलाले भनिन्, ‘मेरो छोरा नवराजसहित ६ जनाको रगतमा राजनैतिक होली खेल्ने काम नहोस् ।’

नवराजकी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी मल्ल थरकी एक युवतीलाई बेहुलीको रुपमा भित्र्याउन १८ जना युवासहित उक्त गाउँ पुगेका वेला सोतीका गाउँलेहरुले निमर्मतापूर्वक उनीहरूमाथि आ’क्रमण गरेका थिए । साे क्रममा लखेटी लखेटी नियन्त्रणमा लिएर ६ जनाको ह’त्या गरेर भेरीमा फालिदिएको पीडित परिवारको भनाइ छ ।

पिडित परिवारले २० जना विरुद्ध उजुरी दिएका थिए । तीमध्ये १८ जनालाई प’क्राउ गरिएको र दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले घटनाको अनुसन्धान रुकुममै बसेर गरिरहेको छ । कल डिटेलका आधारमा थप ७ जनालाई प’क्राउ गरेको प्रहरीले बुधबार जाजरकोटका ईन्द्रबहादुर मल्लसहित दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न भएको आरोपमा हाल सम्म २७ जना प’क्राउ परेका छन् ।