म्याग्दीको बेनी नगरपालिका १ अर्जमका शस्तविर आलेलाई व्याडमा राखेको बिउ काढ्न भ्याइनभ्याइ छ । छेवैको ठूलो खोलाबाट सिंचाइको लागि नहर मार्फत ल्याइएको पानीले खेतका गह्रा भरिएका छन् । दुई हल गोरुले खेत जोतेर हिल्याइसक्यो । रोपाहार तयार भएर बसेका छन् । उनीहरुलाई बीउ पु¥याउन आले सहित तीन महिलाले बिउ काढिरहेका छन् ।

देशभर कोरोना महामारीबाट बँच्न लागु गरिएको लकडाउन (बन्दाबन्दी)को बीहिबार ७९ दिन पुगेको छ । बन्दाबन्दीका कारण अन्य दैनिकीमा प्रभाव परेपनि उपल्लो म्याग्दीका किसान यतिबेला धान रोप्ने चटारोमा छन् । आकाशे पानीको भर पर्नु नपर्ने खेतमा धमाधम रोपाइँ भइरहेको छ । कोही आली मिलाउँदै त कोही ब्याड गोड्दै छन् । कृषि कर्ममा बन्दाबन्दीको कुनै प्रभाव देखिएको छैन ।म्याग्दीका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहको उपल्लो क्षेत्रमा यतिबेला धमाधम रोपाइँ शुरु भएको छ । समयमा नै पानी परेकाले किसानलाई पानीको कुनै समस्या छैन । बुधवार ज्यामरुककोटको विमिराबोटमा खेत हिलाउँदै गरेका नारायण शर्माले यसवर्ष पानीको अभाव नहुँदा रोपाइँ सजिलो भएको बताए ।

नियमित वर्षा र पानीको सुविधा भएपछि रोपाई गर्न थालेको कृषकहरुले बताएका छन् । ‘कोरोनाको डर भएपनि भौतिक दुरी र स्वास्थ्य सतर्कता अपनाएर रोपाईं गर्न थालेका छौ,’ बरंंजाका रेशम रोकाले भने ‘छिमेकमा अर्मपर्म गरेर रोपाईं गरेका छौं। पानी परिरहेकाले सजिलो भएको छ।’ बगरफाँट,रत्नेचौर सिंगा,अर्मनको छिसवाङ, पिपलबोट, खोप्टी, पिपलबोट, सेराफाँट,पुलाचौर म्याग्दीमा धेरै धान खेती हुने ठाउँ हुन् ।गहुँ छरेको र हिउदे बाली नलगाएको खेतमा जेठको अन्तिम साताबाट रोपाई गर्छन्। उपल्लो म्याग्दीका अधिकाँश ठाउमा सामाजिक दुरी कायम गर्दै किसानहरु धान रोपाइँमा व्यस्त रहेका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

मालिका गाउँपालिका ५ देविस्थानका वडाअध्यक्ष पिपला बूढाले रोपाइँको चटारो भएपनि सामाजिक दुरी कायम गरेर किसानहरुले काम गरिरहेको बताइन् ।विगतका वर्षहरुको तुलनामा यस वर्ष धान रोपाइँ गर्न निकै सहज भएको किसानहरुको भनाइरहेको छ ।

लामो बन्दाबन्दीका कारण शहर बजार र घरबाट बाहिर रहेका व्यक्तिहरु पनि गाउँमा फर्किएकाले कृषि मजदुरका लागि कुनै समस्या नभएको ज्यामरुककोटका कृषक ज्ञान सापकोटाले बताए । ‘सापकोटाले भने,यस वर्ष खेताला (कृषि मजदुर) र पानीको अभाव नहुँदा सजिलैसंग रोपाइँ हुँदै छ ।‘

विगतका वर्षमा मजदुरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो। अध्ययन, रोजगारी र व्यापार ब्यवसायका लागि सहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएका छन्।
परिवारका सबै सदस्य घरमै भएकाले खेतीबाली लगाउन सजिलो भएको किसानहरुको भनाइ छ ‘कोरोनाले गर्दा यसपाली खेतीबाली लगाउन खेताला खोज्न परेको छैन,’ सापकोटाले भने ‘काम गर्ने मान्छे घरमै छन्, आनन्दै छ ।’

पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगका साथै कृषकहरुले परम्परागत प्रविधिको भरपुर प्रयोग गरेका छन् । खेत जोत्नका लागि मिनिटिलर वा ट्याक्टर प्रयोग गरिएपनि हल गोरु नारेर रोपाइँ गर्नुको मज्जा नै बेग्लै हुने युवा पुस्ताका कृषकहरुको भनाइ छ ।कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क अनुसार जिल्लाभर तीन हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

म्याग्दीमा गौरीया, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने तथ्याङ्क छ ।