नेपाल आउँदै गर्दा भारतको सुनौलीमा मृत्यु भएका पश्चिम नवलपरासी सुस्ता गाउँपालिका (साविकको कुडिया ७) का ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हिन्दुस्तान टाइम्सका महाराजगञ्ज सम्वाददाता आलोक जोशीका अनुसार मृतकको शरीरबाट लिइएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार साँझ रिपोर्ट आएको थियो ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका उनी भारतको मुम्बईबाट नेपाल आउने क्रममा बुधबार सुनौली आइपुग्दा बेहोस भएका थिए । पछि उनको मृत्यु भएको थियो ।

मृतक युवकको शव व्यस्थापन भारतमै हुने रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताएका छन् । मृतक सवार बसमा ४० जना अरु व्यक्तिहरु रहेको जनाइएको छ ।