म्याग्दीको खानेपानी तथा सरसफाइ क्षेत्रमा संघीय सरकारमार्फत १६ करोड ८२ लाख बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ बजेटमा म्याग्दीका दुई ठूला खानेपानी योजना सहित विभिन्न शिर्षकमा उक्त बजेट विनियोजन गरेको हो ।

ढिलासुस्ती र प्रयाप्त बजेटको अभावका कारण बहुप्रतिक्षित घोप्टेखोला खानेपानी र बृहत भगवती–पिप्ले खानेपानी आयोजनाले गति लिन नसकिरहेको अवस्थामा खानोपनी मन्त्रालय अन्तरगत संघीय खानेपानी तथा ढल ब्यवस्थापन विभाग मार्फत दुबै ठूला खानेपानी योजनालाई बजेटमा प्राथमिकता दिइएको छ ।

बृहत भगवती–पिप्ले खानेपानीलाई ३५ करोडको लागत इस्टिमेटमा ९ करोड ५० लाख, घोप्टेखोलालाई ६०करोड अनुमानित लागतमा ४ करोड ८५ लाख विनियोजन भएको छ । आर्थिक बर्ष २०६२÷०६३ मा पाखापानी–१ र २ मा पर्ने घोप्टेखोलालाई मुहान बनाई पाखापानी,झि, पात्लेखेत, घतान, पूलाचौर र अर्थुङेका करिब १२ हजार जनसंख्यालाई स्वच्छ र सुलभ पानी पु¥याउने सुरु गरिएको थियो भने चिमखोलाबाट पानी ल्याई रघुगंगा गाउँपालिका-२ राखु भगवती र राखु पिप्लेका १० हजार भन्दा बढी जनताहरुको लागि ‘एक घर एक धारा’ अवधारण अनुसार बृहत खानेपानी योजना सुरु भएपनि हरेक बर्ष न्यून बजेटका कारण योजना सम्पन्न हुन सकेको छैन्।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराका सिनियर डिभिजन इन्जिनियर शेखरचन्द्र केसीले यसबर्ष म्याग्दीमा क्रमागत आयोजना बाहेक नयाँ समेत रहेको बताउँदै बजेटको कार्यान्वयनका लागि काम सुरु हुने बेनीअनलाइनलाई बताउनुभयो ।

‘म्याग्दीमा साना–ठूला योजनाहरु छन्,‘प्राथमिक योजनामा बजेट विनियोजन भएको छ’ केसीले भन्नुभयो । उहाँका अनुसार क्रमागत र नयाँ योजना बाहेक केही डिपिआर तयारका लागि समेत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । आगामी आवामा लागु हुने आयोजनामा १० बटा क्रमागत छन भने ४ वटा नयाँ योजना रहेका छन् ।