‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा म्याग्दीको मंगला गाउँपालिकाका शिक्षकले तीनदिनको पारिश्रमिक ६ लाखभन्दा बढी सहयोग गरेका छन् ।

नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत नेपाल राष्ट्रिय शिक्षक संघले संयुक्त पहलमा संघीय सरकारको कोरोना कोष र गाउँपालिकाले स्थापना गरेको आपत्कालिन कोरोना कोषमा गाउँपालिका भित्र रहेका ४० विद्यालयका २ सय जना शिक्षक, ४७ जना कर्मचारी र ४४ जना बालविकास सहजकर्ताले ६ लाख ३० हजार ९४३ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, मंगला गापाका शिक्षा संयोजक डेकबहादुर बानियाँको उपस्थितीमा गाउँपालिकाको कोषमा २ दिनको तलब ४ लाख २० हजार ६२९ र संघीय कोषमा २ लाख १० हजार ३१४ रुपैयाँ जम्मा गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष होमनाथ पाण्डेले जानकारी दिनुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा कोरोना रोकथाममा प्रयास तथा अभियानमा शिक्षकले एकमुष्ठ रुपमा सहयोग गरी विपद्मा सहकार्यको नमुना प्रस्तुत गरेको बताइएको थियो । कोरोना संक्रमणबाट जोगिन गाउँपालिका भित्र शिक्षकमार्फत विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालनमा समेत सहयोग पुगेको भन्दै गाउँपालिका अध्यक्ष रोकाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

‘सरकारी निकायको एकल प्रयासले कोरोनाको संकटबाट पार लाग्न गाहे छ,‘सबैको साथ र सहयोगले महामारीबाट जोगिन सकिन्छ’ रोकाले भन्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलाका अध्यक्ष रुद्ध बहादुर केसी, शिक्षक संघ मंगलाका प्रतिनिधि केशब कँडेल लगायतको उपस्थिती रहेको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन शिक्षा संयोजक बानियाँले गर्नुभएको थियो ।

विज्ञापन