जिल्लाका स्थानीय तहमा बस्तीस्तरबाटै योजना छनौटको चटारो सुरू भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनका कारण गाउँमा हुने विभिन्न कार्यक्रममा सहभागि हुन नपाएका स्थानीयले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा गाउँबस्तीका समस्याहरूलाई समेट्न जनप्रतिनिधिलाई माग गरेका छन् ।

जनताका आवश्यकता अनुसारमा योजनालाई कार्यान्वयनमा ल्याउन नसकेका जनप्रतिनिधिले विगतमा छनौटमा परेका योजना र नयाँ समस्यालाई पहिचान गरी आगामी बजेट विनियोजन गर्ने गरी बस्तीस्तरमै छलफल सहित योजना सङ्कनमा जुटेका जनप्रतिनिधिलाई स्थानीयले धमाधम आफ्नो समस्या सुनाउने गरेका छन् ।

शनिबार बेनी नगरपालिका–३ भकिम्लीको विभिन्न बस्तीमा पुगेका जनप्रतिनिधिलाई सहरबजारमा बजेट केन्द्रित गर्ने मानसिकताबाट बाहिर आउने गरी पहल गर्न सुझाव दिएका छन् । चालु आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेका जनप्रतिनिधिले जनताका प्राथमिकतालाई आधार बनाएर मात्रै योजना बनाउन माग गरेका हुन् ।

‘पहिलो प्राथमिकतामा राखेर पठाइएका योजनाहरूलाई हटाउने गरिन्छ,‘आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्छ’ चन्द्रोदय आधारभुत विद्यालय राखुकी प्रधानाध्यापक शान्ता रानाले भनिन् ।

उनले कोल्ड स्टोर (चिस्यान केन्द्र) को माग गरिन् । बर्षेनी १ करोडभन्दा बढी मुल्यको सुन्तला, आलु लगायतका फलफुललाई कोल्ड स्टोरमा राखेर अफसिजनमा विक्री गर्न सकेमा किसानले राम्रै नाफा लिन सक्ने भन्दै अबको बजेटमा भकिम्ली लगयत आसपासका वडाका सुन्तला उत्पादन गर्ने किसानलाई कोल्ड स्टोर उपहार दिनुपर्ने रानाको भनाई छ ।

टोलस्तरमा भएको छलफलमा आवश्यक योजनालाई सम्बोधन गर्न समेत जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।

कोल्ड स्टोर (चिस्यान केन्द्र) नहुँदा उत्पादित वस्तुहरु कुहिने डरले हतार हतार सस्तोमा विक्री गर्नु परेको भन्दै सुन्तला उत्पादन गर्ने राखु र मरेकका स्थानीयले उक्त माग गरेको वडा अध्यक्ष पदम पुनले बताए ।

अन्य योजनाहरुसँगै कोल्ड स्टोरको माग आएको बताउँदै यसलाई वडास्तरको योजनामा समावेश गर्ने बताए। न्न्युन बजेटका कारण बजेटको सिमाभित्र रहेर योजना छनौटमा जनप्रतिनिधिलाई हम्मेहम्मे परेको छ । बेनी नगरपालिका भित्रका १० वटै वडाले बस्तीस्तरमा पुगेर गरिरहेको छलफलमा शिक्षा, स्वास्थ्य, सामाजिक विकास सहित विकास निर्माणलाई प्राथमिकता दिएको जनप्रतिनिधिले जनाएका छन् ।