बेनी नगरपालिका–३ भकिम्लीबाट गतबर्ष डेढ करोडको सुन्तला निर्यात भयो । छिमेकी बास्कुना लगायत जिल्लाभरबाट करोडौंको सुन्तला सिजनमै धमाधम विक्री भयो । सिजनमा सस्तो मुल्यमा बिक्री गर्ने गरेका कृषकले कोल्ड स्टोर (चिस्यान केन्द्र) को माग गर्न लागेको करिब एकदशक वितिसक्यो ।

पछिल्लो समय सुन्तला, आलु लगायत ब्यवसायीक उत्पादन हुने अन्य कृषिजन्य बस्तुको उत्पादन ह्वात्तै बढेपनि कोल्ड स्टोरको अभावका कारण सिजनमा सस्तो मुल्यमा विक्री गर्ने गरेका ब्यवसायीक किसानले कोल्ड स्टोरमा राखेर अफसिजनमा विक्री गर्ने चाहना यसबर्ष पनि पुरा भएन्।

चालु आर्थिक वर्ष ०७६÷७७ का लागि केन्द्र सरकारबाट कोल्ड स्टोरमा विनियोजित बजेट उपयुक्त स्थान र जग्गाको अभावले बेनी नगरपालिकाको बजेट फ्रिज भएको छ । विषेश अनुदानमार्फत प्राप्त १ करोड बजेट बेनीबजारभित्र जग्गा प्राप्त नभएको र बेनपा–४मा समेत संरचना बनाउन आवश्यक जग्गाको अभावले कार्यान्वयनमा नआएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए ।

‘बजेट कार्यान्वयनमा समस्या भएको थियो,‘बजारभित्र राख्दा राम्रो हुन्छ भन्ने राय थियो,‘बजार बाहिर पनि गएकै हो,अनुकुल जग्गा पाइएन’ सुबेदीले भने। उनले बेनीबजारमा राख्दा उत्पादनलाई भण्डारण सहिज सबै वडाका कृषिउपजलाई सहज हुने भएकाले जनप्रतिनिधिले करिब १० रोपनी जग्गा खोजेपनि फेला नपरेको बताए ।

सुबेदीले कोल्ड स्टोरका लागि प्रयास भएपनि सम्भब नभएकाले अर्को बजेटमा समेत माग गर्ने बताए । बेनी नगरका जनप्रतिनिधिले लामो समयसम्म बेनीबजारमै कोल्डस्टोर राख्ने प्रयास गरेको नगरपालिका स्रोतको भनाई छ ।

नगरपालिकाभित्र वडा नं ३ भकिम्ली र वडा नं ४ सिंगाको बास्कुनामा हुने वडास्तरीय योजना छनौटमा हरेक बर्ष कोल्डस्टोरका लागि जग्गाको माग हुने गरेको छ । ‘जग्गामात्रै होईन आवश्यकता परेमा आर्थिक पनि खर्च गछौं, कोल्डस्टोर चाहिएको छ’ बेनपा–४ बास्कुनाका अगुवा कृषक तिलक गुरुङले भने ।

उनले नगरपालिकामा आएको बजेटलाई समेत समेत कार्यान्वयनमा नलैजानु दुखको कुरा भएको बताए । उनले सुन्तला लगायतका फलफुललाई अफसिजनमा विक्री गर्दा चारगुणा फाईदा हुने बताए । उनले कोल्डस्टोरका लागि पटक–पटक माग गरिएको बताए ।

‘हामीले बुझाएको कागजात नगरपालिकामा सुरक्षित छ, अव फिर्ता माग्छौ’ गुरुङले भने । उनले नगरपालिकाले बजेट फिर्ता गरेर ब्यवसायीक फलफुल खेतीमा लागेका किसानको अपमान गरेको बताएका छन् ।

त्यस्तै वडास्तरको योजना छनौटका लागि बस्ती–बस्तीमा पुगेका भकिम्लीका जनप्रतिनिधिलाई समेत सुन्तला खेती हुने राखु र मरेकका किसानले कोल्ड स्टोरको माग गरेका छन् । नगरपालिकालाई पायक पर्ने ठाउँमा राखेपनि तयार रहेको ब्यवसायीक फलफुल खेतीमा सक्रिय किसानको भनाई छ ।