गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक-एक जना कोरोना संक्रमित फेला परेका हुन् । याेसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ ।

शर्माका अनुसार गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको उहाँले जानकारी दिनुभयाे ।

त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पाइएको छ भने पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक-एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरु सबैजना भारतबाट फर्किएर क्वरेन्टीनमा बसेका पनि उहाँले बताउनुभयो । उनीहरु क्वारेन्टिनमा छन् । अहिले सङ्क्रमण पुष्टि भएका सबैजनालाई सम्बन्धित जिल्लाका आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ ।