Suspended skipper Sagar Thapa

म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापासहित सबैले सर्वोच्चबाट सफाइ पाएका छन् ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशलले सागर थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी, विकाससिंह क्षेत्री, रितेश थापा र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो ।

अदालतले कसूरको प्रकृति म्याच फिक्सिङ्क रहेको तर, म्याच फिक्सिङ्कको कानून पछि मात्रै आएको फौजदारी संहितामा रहेको ठहर गरेको हो । म्याच फिक्सिङ्कको कानून बन्नु अगाडिकै कसूर भएकाले कानूनको अभावमा सफाई दिएको बिशेष अदालतको फैसला सदर भएको हो ।

उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमत्तोमा खेल खेलेका आरोप लागेको थियो । ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई वि.सं.२०७२ असोजमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो । साथै, उनीहरुले प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो । तर, अदालतमा प्रहरीको दाबी पुष्टि हुन नसकेपछि सफाइ दिएको हो ।

पाँच वर्ष अगाडि पाँचै जना खेलाडीलाई अखिल नेपाल फुटबल संघले फुटबलबाट प्रतिबन्ध लगाएको थियो, भने एसियाली फुटबल महासंघले पनि उनीहरुमाथि प्रतिबन्ध लगाएको छ ।