करिब ७ बर्ष अगाडी बाख्रापालन गरेकै पहिलोबर्ष १३ पाठापाठी मरेपछि खेतबारीमा गाडेका बेनी नगरपालिका-९, तोरीपानी काफलबोटका आनन्द रिजाललाई ब्यवसाय सुरू गरेको पहिलो बर्षमै खोर रित्तो हुने गरी पाठपाठी मरेपछि नोक्सान भोगेका रिजालले बाख्रापालनमा हरेस खाएनन्। पहिलोबर्ष नै बाखा्रपालनको नमिठो सम्झनालाई उनले विर्सिएका छैनन् ।

अझैपनि घर नजिकै मरेका पाठापाठी गाडे देखाउँदै बाख्रापालनमा प्राप्त भएको सफलता सुनाउँछन् । २१ वर्षसम्म निजी कम्पनीमा काम गरेका एक व्यक्तिले जागिर त्यागेर व्यावसायिक बाख्रापालन सुरु गरेका रिजालले चालु आर्थिक वर्षमा बाख्रा बिक्री गरेर साढे १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको रिजालले बताए । ‘पहिलोबर्ष खोर रित्तियो, गोठ नै भत्काउ जस्तो भएको थियो, बाँकी पाठापाठीको मायाँ लाग्यो’ रिजालले भने।

उनले थपे,‘पहिलो गाँसमा ढुंगा लाग्यो,‘त्यसपछि सफलतै सफलता मिल्यो’ ।काठमाण्डौको एक प्रतिष्ठित कम्पनीमा सुपरभाइजर पदमा कार्यरत रिजालले २०७० सालमा आएर जागिर छाडेपछि ०७१ सालबाट बाख्रापालन सुरु गरेका थिए । सुरुमा ८ ओटा स्थानीय जातका बाख्रापालन सुरु गरेका उनले व्यावसायिक रुप दिएपछि ७२ ओटासम्म बाख्रा पालेको बताए ।

धौलागिरी व्यावसायिक बाख्रापालन बोयर मोडेल फर्म नै दर्ता गरी व्यवसाय सुरु गरेका रिजालको खोरमा हाल सबै बोयर (उन्नत) जातका बाख्राहरु छन् । बोयर जातको बाख्रालाई उन्नत जातको साथै उत्पादन राम्रो र आम्दानी आकर्षक हुने बाख्राका रुपमा मानिन्छ । रिजालको खोरमा अहिले ठूला (माउ) बाख्रा १९, बोका ७ र पाठापाठी ७ ओटा रहेका छन् ।

रिजालसँग बाख्राको गोठमा ५० ओटा बाख्रा अट्ने क्षमताको खोर रहेको छ । कृषक रिजालले बोयर जातको एउटा बोकाको मूल्य न्युनतम १८ हजारदेखि तीनलाख रुपैयाँसम्म पर्ने जानकारी दिएका छन्। बोयर जातको बाख्रा पालेका उनले अहिलेसम्म बोयरको एउटा बोकालाई तीनलाख रुपैयाँमा बिक्री गरेको बताउँदै उक्त बोको ९६ केजीको रहेको बताए ।

निजी कम्पनीमा कति काम गर्ने भन्दै जागिर छाडेर व्यावसायिक बाख्रापालनमा लागेका कृषक रिजालको गोठमा देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु बाख्रा खरिद गर्न आउने गरेका छन् ।बोयर जातको बाख्रालाई उत्कृष्ट मानिने भएकाले व्यापारीहरु पनि बोयरको उत्पादन खरिद गर्न खोजीखोजी आउने हुँदा बोयर जातको बाख्रापालनलाई प्राथमिकता दिएको उनले बताए ।

व्यावसायिक बाख्रापालनको थालनी गरेका कृषकले रिजालले बाख्राको घाँसका लागि ३६ रोपनीको जग्गामा जै–घाँस लगाएका छन् । जै–घाँसका साथै डाले घाँसको बिरुवा समेत रोपेका उनले खेतबारीमा खनिउ, रायखन्यु, निमारो, चुलेत्रो, दुधिलो, टाँकी, बेडुलो, सुपरनेपियर र सेतरिया जातको डालेघाँसका विरुवाहरु छन् । १६ सयवटा डालेघाँसका विभिन्न जातका विरुवाहरु लगाएको जानकारी दिए । भुइँघाँस सिचाईंका लागि पोखरी समेत निर्माण गरेको कृषक रिजालको भनाइ छ ।