झुण्डिएर मृत अवस्थामा भेटिएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्मह’त्या गरेकी सिम्ता गाउँपालिका ८ की २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

असार १ गते आत्मह’त्या गरेकी युवतीको शव पोष्टमार्टमका गर्न मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनु भयो ।

महिला जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएकी थिइन् । उनी सिम्ताकै एक क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकी थिइन् ।

क्वारेन्टाइनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी उनलाइ घर पठाइएको थियो ।कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ । महिलाको शव मेहलकुना अस्पतालमा राखिएको छ ।