तैँले भन्थिस् नि,
नदिको र किनारको जस्तै हुनुपर्छ हाम्रो सम्बन्ध ।
गण्डकीको किनारमा हुर्केको म,
देखिरहेथेँ,
बहाव बढ्दा गहिराई बढाएर
एकनास एउटै बाटोमा बगिरहेको गण्डकी ।
सोच्थेँ,
गण्डकीको झैँ,
म आफुलाई किनार अनि तँलाई नदी
र चाहन्थेँ,
तलाईं म आफुभित्रै बगाईरहुँ ।
तर,
तँ त कोशीजस्तै बनिदिईस्,
बहाव बढ्दै जाँदा
गहिराई होईन आकार बढाएर
किनार नै बदल्दिने,
बगिरहेको बाटो नै बदल्दिने ।

यहाँ,
न तँ गलत
न म गलत,
गलत त स्वयम् सत्य बनिदियो,
तैँले देखेको सत्य
अनि मैले देखेको सत्य ।