म्याग्दी यातायात ब्यवसायी प्रालिले आफ्नो मातहतमा सञ्चालित यातायात ब्यवसायीलाई १२ लाख राहत वितरण गरेको छ । नेपालमा कोरोना भाइरस फैलिएसँगै चैत्र महिनाको ११ गतेदेखि पूर्णरुपमा बन्द भएपछि यातायात ब्यवसायी मर्कामा परेको भन्दै प्रालिले १ सय ६० ब्यवसायीलाई प्रति ब्यक्ति ७ हजार ५ सय राहत वितरण गरेको हो ।

कोरोना भाइरसको जोखिमले तत्काल सार्वजनिक यातायात सञ्चालनको सम्भावना नभएकाले वित्तिय संस्थाको किस्ताब्याजका साथै ब्यवसायी नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गरी राहत वितरण गरिएको प्रालिका सचिव सुमन श्रेष्ठले बेनीअनलाइनलाई बताउनुभयो ।‘कोरोनाले यातायातको क्षेत्रमा संकट निम्त्याएको छ,‘यो सानो प्रयासले केही राहत हुने अपेक्षा गरेका छौ’ श्रेष्ठले भन्नुभयो ।

म्याग्दी जिल्लाका विभिन्न ग्रामिण सडक, छिमेकी जिल्ला सहित राष्ट्रिय राजमार्गमा चल्ने प्रालिमा आवद्ध ब्यवसायीलाई राहत वितरण गरिएपनि राज्यको निकायबाट समेत राहतको कार्यक्रम ल्याउनुपर्ने प्रालिका अध्यक्ष लालबहादुर थापाले बताउनुभयो । ‘यातायात क्षेत्रमा भएको ठूलो लगानी जोखिममा छ,‘अझै यस्तै अवस्था रहेमा ब्यवसायी पलायन हुन्छन्’ थापाले भन्नुभयो ।

सरकारले लकडाउन खुकुलो पारेपनि सार्वजनिक यातायातका साधन बर्खाभरी सञ्चालनको सम्भावना नभएकाले त्यसमा कार्यरत मजदुरको परिवारमा समेत आर्थिक समस्याले थप अर्को जोखिम निम्त्याउन सक्ने भन्दै सम्बन्धित निकायबाट राहत सहित वित्तिय संस्थाले समेत किस्ताब्याजदरमा सहयोग गर्नुपर्ने ब्यवसायीको भनाई छ ।

लकडाउनपछि म्याग्दीमा सञ्चालित छोटो तथा लामो दुरीका सवारी साधनहरु ग्यारेजमा थन्किएर बसेका छन् भनेयातायातका साधनहरु थन्किँदा खिया लाग्ने र कुहिन थालेको ब्यवसायीको भनाई छ ।