गलेश्वरमा भक्तजनको भेटीबाट बहुउद्देश्यीय हल निर्माण

0

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकल गलेश्वर शिवालय क्षेत्र विकास कोषले भक्तजनको भेटीबाट सुविधासम्पन्न बहुउद्देश्यीय हल निर्माण गरेको छ । गलेश्वरबासीको आवश्यकता र माग अनुसार विवाह, बर्तबन्ध, गोष्ठी, सेमिनार लगायतका सामाजिक गतिविधिका लागि खेलकुद मैदान नजिक २१ लाख ९६ हजार ५ सय लागतमा हल निर्माण गरेको कोषका कोषाध्यक्ष एवम् निर्माण समितिका संयोजक बमबहादुर पुनले बताउनुभयो ।

‘एउटा सामुदायिक भवनको आवश्यकता थियो,‘भवनलाई सामाजिक गतिविधि सञ्चालन गर्ने गरी प्रयोग गरिनेछ’ पुनले भन्नुभयो ।क्षेत्र विकास कोषको आन्तरिक कोषबाट निर्माण गरिएको भवनमा केही काम बाँकी रहेकाले कोरोनाको जोखिम टरेसँगै औपचारिक रुपमै उद्घाटन गरिने कोषले जनाएको छ । हलमा एकैपटक करिब २ सय जनासम्म कार्यक्रममा सहभागी हुन सक्नेछन् । कोषका अध्यक्ष रुद्धबहादुर केसीले धार्मिकस्थल गलेश्वरमा भक्तजनले भगवानलाई चढाएको भेटीले समुदायमा आवश्यक पर्ने भौतिक संरचनामा समेत खर्च गरिने बताए । खेलमैदान आसपासको क्षेत्रमा बगैचा सहित आवश्यक पूर्वाधारका साथै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आर्कषित गर्ने योजना रहेको छ।बहुउद्देश्यीय हल नजिकबाटझोलुङ्गे पुलको प्रयोग गरी राममन्दिरसम्म जान सकिने भएकाले समेत धार्मिक पर्यटकलाई समेत आर्कषित गर्न सकिने स्थानीयको भनाई छ । यसअगाडी समेत भक्तजनको भेटीबाट मन्दिरमा धेरै संरचनाहरु निर्माण गरिएको छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले गलेश्वरमा बर्षेनी ठूलो संख्यामा नेपालका साथै भारतबाट समेत दर्शनका लागि आउने गरेका छन् । कोरोनाको जोखिमले विभिन्न भजनकृतन, पूजाआजा रोकपनि पूजारीले नियमित पूजामात्रै गर्ने गरेका छन् ।

Leave a Reply