म्याग्दीका स्थानीय तहले रोजगार केन्द्रित बजेट बनाउने तयारीमा जुटेका छन् । कोरोना भाइरस रोग (कोभिड–१९)का कारण गत चैत्र महिना यता देखिएको समस्यालाई मध्यनजर गरी कृषि, पशुपालन लगायत उत्पादनमुखी क्षेत्रमा केन्द्रित भएर बजेटलाई प्राथमिकता दिने जनाएका छन् ।

कोरोनाका कारण स्वदेश तथा विदेशबाट धमाधम गाउँमा फर्किएर कृषि र पशुपालनमा चासो देखाउन थालेपछि यसबर्षको बजेटलाई उत्पादनमुखी र रोजगारमुलक क्षेत्रमा केन्द्रित गर्न स्थानीय तहले वडास्तरबाटै कार्यक्रमहरू बनाएर अगाडी बढ्ने बताएका छन् ।

संघीय सरकारमार्फत कोरोना केन्द्रित बजेटलाई प्राथमिकता दिन निर्देशन आएकाले समेत स्थानीय तहले ठूला योजनामा बजेट केन्द्रित भन्दा पालिकाभित्रका जनताको आवश्यकतालाई मध्यनजर गरी बजेट बनाउन ब्यस्त छन् ।

कोरोनाका कारण विदेशमा रोजगारी गुमाएकाहरु समेत फर्किने भएकाले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिने बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताए । ‘कोरोनाबाट सृजित समस्यामा केन्द्रित हुन सबैलाई निर्देशन दिइएको छ,‘विकास निर्माणका योजनाहरुले समेत निरन्तरता पाउँछन्’ प्रमुख श्रेष्ठले भने । वडास्तरबाट आउने योजनामा उत्पादनमुखी क्षेत्रलाई पहिलो आधार बनाउन समेत भनेको मेयर श्रेष्ठको भनाई छ ।

त्यस्तै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले यस वर्षको बजेटमा कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापकीय कार्यमा बढी ध्यान दिनुपर्ने भएको बताए । ‘उत्पादनमुखी क्षेत्रमा बजेटले प्राथमिकता पाउँछ,‘कृषिमा आत्मनिर्भर बनाउने अवसरको रुपमा लिएका छौ’ अध्यक्ष रोकाले भन्ने ।

स्थानीय बजेट प्रभावकारी बनाउन वडास्तरका योजनाहरुमा समेत गहिरो चासो दिएर अगाडी बढेको बताए ।अहिले आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको तयारीमा रहेको बताए। त्यस्तै मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले समेत रोजगार केन्द्रित बजेट नै आगामी बर्षको प्रमुख लक्ष्य रहेको बताए ।

यता धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बाँझो जमिन राख्न नपाईने निति बनाइसकेको बताउँदै पालिकाको प्रमुख आवश्यकतालाई केन्द्रित गरेर अगाडी बढ्ने बताईन् । ‘समुदायलाई सीपयुक्त बनाई स्वरोजगार केन्द्रित बजेट ल्याउँछौ,‘सीप अनुसारको क्षेत्र पहिचान गछौं’ उनले भनिन् ।

यता रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले कृषि क्षेत्रमा बजेटलाई प्राथमिकता दिनुको विकल्प नभएको बताए। जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन सहित माटो सुहाउँदो खेतीलाई प्राथमिकता दिने बताए।

उनले जमिनमा खेती देखि निर्माण क्षेत्रमा मजदुरी गर्ने, इलेक्ट्रिकल लगायत रोजगारमुलक कार्यमा लाग्दा प्रतिव्यक्तिले मासिक ३० हजारदेखि माथि कमाई हुने गरी सीप सिकाउने गरी बजेट बनाउने बताए । यता अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले उत्पादनमुखी बजेटलाई आधार बनाएर किसानलाई धनी बनाउने, पर्यटन लगायतका क्षेत्रमा कोरोनाले परेको असरलाई ध्यान दिएर बजेट तयार गर्ने बताए ।

‘सीपयुक्त जनशक्तिको अभाव खड्किएको छ, यो बजेटमा हामीले सम्बोधन गर्ने प्रयास गछौं’ उनले भने । रोजगार सृजना गर्न सकिने हरेक क्षेत्रलाई प्राथमिकता दिने स्थानीय तहले जनाएका छन् ।

बेरोजगार यूवालाई उत्पादनमुलक क्षेत्रमा सक्रिय बनाउने र रोजगार कार्यक्रममा विगतमा देखिएका कमजोरीलाई समेत सच्चाउने जनप्रतिनिधिको भनाई छ । संघीय सरकारले म्याग्दीलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।स्थानिय तहहरुलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर १ अब ७७ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।