कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को सबस्टेशनमा स्थानीयबासीले अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् । पटक–पटक स्थानीयको मागप्रति बेवास्ता गरेको भन्दै वडा अध्यक्ष नरसिङ बहादुर पूर्जाको नेतृत्वमा स्थानीय राजनीतिक दल, आमा समुह, यूवा क्लवको टोलीले प्रवेशद्धारमै तालबन्दी गरेको स्थानीय पर्यटन ब्यवसायी इन्द्रसिह शेरचनले बताए।

पटक–पटक स्थानीयको मागलाई सम्बोधन गर्न अनुरोध गर्दा समेत बेवास्ता गरिएपछि आन्दोलनमा होमिएको वडा अध्यक्ष पूर्जाको भनाई छ ।

स्थानीयले सबस्टेशनबाट वडाभित्र २४ घण्टा विजुलीको ब्यवस्था गर्नुपर्ने, क्षमता अनुसार स्थानीयलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने, रुप्से यूवा क्लवको भवन आसपासको क्षेत्रमा तटबन्धन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य लगायतका सघसंस्थालाई समेत सहयोग गर्नुपर्ने लगायतका माग सुनुवाई नभएपछि बन्द गरिएको स्थानीयबासीको भनाई छ ।

‘हामीले छलफलका लागि बोलाइएका धेरै बैठकलाई बेवास्ता गरियो,‘जनताको मागलाई पुरा नगरी काम गर्न दिदैनौ’ नेपाली कांग्रेसका अन्नपूर्ण गाउँपालिका सभापति बेलबहादुर पूर्जाले भने। उनका अनुसार समुदायले धेरैसम्म सहकार्यको प्रयास गरेपनि प्रशारण लाइनको टोलीबाट निरन्तर उपेक्षा भएको बताए । तालाबन्दी गर्न दानाका विभिन्न बस्तीबाट झरीमा समेत झिज्दै आएका थिए ।

स्थानीयले विगतमा गरिएका आश्वासन समेत पुरा नभएको गुनासो गरेका छन् । दाना स्टेशनलाईमा म्याग्दी र मुस्तामा निर्माणसम्पन्न भएका थापाखोला र घलेम्दी जलविद्युत आयोजनाको विद्युत् जोडिका छन् भने निर्माणको अन्तिम चरणमा रहेको ४२ मिस्त्री खोला लगायत समेत जोडिने तयारीमा छन् । जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।