कोरोना संक्रमण पुष्टि भए पछि धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचाररत एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–९ की १९ वर्षिय एक युवतीले विहिबार बिहान आइसोलेसन कक्षमै बच्चालाई जन्म दिएकी हुन ।

आइसोलेन कक्षमा रहेकी युवतीलाई सुत्केरी वेथा लागे पछि छुटै कोठामा व्यवस्थापन गरेर राखेको धौलागिरी अस्पतालका सल्यक्रिया कक्ष इन्चार्ज देवी भट्टराईले जानकारी दिईन ।सुत्केरी युवतीको बुधबार साँझ कोरोना नेगेटिभ रिपोर्ट भएको थियो । भारतदेखि घर फर्केका श्रीमान श्रीमति दुवैलाई कोरोना पोजेटिभ देखिएको थियो । अहिले दुवै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

सुत्केरी आमा र नवजात शिसुको अवस्था सामान्य रहेको इन्चार्ज भट्टराईको भनाई छ । ‘युवतीको नर्मल डेलिभरी हो’ भट्टराईले भनिन–‘स्वास्थ्य अवस्था सामान्य रहे भोलीसम्म (शुक्रबार) डिस्चार्ज गर्न सक्छौँ ।’

बागलुङमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना निको भएर घर फर्केका छन भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । बागलुङको दश स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा एक हजार ४८१ जना रहेका छन ।