उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले सुन्तला र कागतीको बिरुवा माग गरेपछि गाउँपालिकाले धमाधम वितरण सुरू गरेको छ ।

उत्पादन गरेका सुन्तलाकागतीको माग अत्याधिक हुन थालेपछि किसानको आर्कषणलाई मध्यनजर गरी २५ सय कागती र ८ हजार सुन्तलाको बिरुवा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सुन्तला र कागतीमा ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बिरुवा हस्तान्तरण गदैं सदुपयोग गरेमा आगामी बर्ष सतप्रतिशत अनुदानको ब्यवस्था गर्ने बताउनुभयो । ‘किसानलाई अनुदानमा कुनै कमि हुदैन्, पहुँचभन्दा आवश्यकताका आधारमा सहयोग गछौ’ पुनले भन्नुभयो । गाउँपालिका कृषि शाखाले किसानको माग अनुसारको बिरुवा उपलब्ध गराएको थियो ।

त्यस्तै गाउँपालिका भित्रका ८ वटै वडामा कृषकको मागको आधारमा निशुल्क रुपमा २२ सय ढाले घाँस र ५ हजार सुपर नेप्यिएर घाँसको बिरुवा वितरण गरिएको जनाइएको छ । गाउँपालिकालाई वित्तिय समानिकरण अनुदानबाट सुन्तला र कागतीका लागि २ लाख ४० हजार प्राप्त भएको थियो भने घाँसको बिउ वितरणमा १ लाख १० हजार बजेट रहेको थियो ।  हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीको समेत उपस्थिती रहेको थियो ।