नेपालमा सलह किरा भित्रिएको छ । अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत आएको सलहको सानो समूह नेपाल प्रवेश गरेको हो । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलहले खेतमा लगाइएको बाली सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन । केही दिन अघि कृषि मन्त्रालय विज्ञहरुले भारतमा आइसकेको सलह नेपालमा आउने खतरा टरेको दावी गरेका थिए ।
तर बैज्ञानिकहरुको दाबीलाई चुनौती दिदै नेपालमा सलहले प्रवेश गरेको नेपाल कृषि अनुसन्धान परिषद्का कीट वैज्ञानिकले पुष्टि गरेको छन । मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको उनिहरुको अनुमान छ । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्ने बताएका थिए ।
सलह नेपालमा प्रवेश गरेसँगै यसले कति असर गर्ला भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले अहिले मनसुनको समय भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले अहिले नेपालमा धान रोप्ने समय भएको र अन्नबालीहरु कम भएको उल्लेख गर्दै धेरै क्षति हुन नसक्ने बताए । उनले भने, ुअहिले धान रोप्ने समय छ ।
धेरैजसो खेतहरु खाली छन् । पानी पनि परिरहेको अवस्था छ । हुमागाईंले धानको बीउहरुमा सलह बसिदियो भने सखाप पार्ने सम्भावना रहेको र तरकारी बाली नष्ट गर्ने सम्भावना भने रहेको बताए । यस्तै कीट विज्ञान महाशाखाका वैज्ञानिक सुदीप उपाध्यायले पनि कृषकहरुलाई नआत्तिन आग्रह गर्दै नजिकैको कृषि कार्यालयमा गएर जानकारी गराउन भनेका छन् । उनले प्रारम्भिक अध्ययनका क्रममा मरुभूमिमा पाइने धेरै खन्चुवा पहेंलो सलह नदेखिएको, मनसुन रहेको र प्रजनन् गर्ने उपयुक्त वातावरण नेपालमा नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
नेपालमा सलह भित्रिएसँगै कृषि मन्त्रालयद्वारा गठित टास्क फोर्सको बैठक अपरान्ह १ बजेबाट सुरु भएको छ । बैठकमा सलहका प्राप्त फोटो तथा विवरणको अध्ययन र अनुसन्धान गरेर कुन प्रजातिको सलह हो भन्ने निष्कर्ष निकाल्ने हुमागाईंले जानकारी दिए । यस्तै बैठकले कार्ययोजना तथा रोकथामका विधिबारे छलफल तथा निर्णय गर्ने उनले बताए । Source: tvannapurna.com