नेपालको बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । आज दिउँसो बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी बजार, चरङ्गे लगायतका क्षेत्रमा देखिएको सलहको बथान साँझ पख पाल्पा तिर लागेको प्रदेश नं. ५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायाण देवकोटाले बताए ।

शनिबार हावाको बेग उत्तरतर्फ बगेकाले त्यससँगै सलहको बथान पनि उत्तर तर्फ लागेको बताइएको छ । ‘सलहको बथान हावाको बेगसँगै दिनभर उड्छ । रातपरेपछि यो जहाँ बस्छ त्यहाँ ठूलो नोक्सान गर्छ’ देवकोटाले भने । सलहको बथान कहाँबाट पस्यो भन्ने यकिन भइनसकेपनि बुटवलसहित बिभिन्न स्थानमा सलहको झुण्ड भेटिएको देवकाटाले बताए ।

विशेषगरी बुटवलको सुख्खानगर, दिपनगर र गोलपार्क क्षेत्रमा दिउँसो २ बजेपछि ठूलो संख्यामा सलहको बथान देखिएको थियो । शनिबार हावाको बेग उत्तर बगेकाले सलहको बथान पनि रुपन्देहीदेखि उत्तर पाल्पातर्फ गएको हो । ‘ हावाको बेगसंगै सलहको बथान उडेर उत्तर गएको छ । त्यसैले पाल्पामा पनि विशेष सावधानी अपनाउन जरुरी छ’ देवकोटाले भने ।

तराइमा धान र पहाडमा मकै खेतीको मुख्य सिजन भएकाले किसानहरु सलह पसेको खबरसंगै चिन्तीत भएका छन् । यो किरा जहाँ बस्छ त्यहा ठूलो क्षति गर्ने भएकाले यो किरा देखिने बित्तिकै सम्बन्धित पालिकाको कृषि शाखा ज्ञानकेन्द्र वा प्रदेशको कृषि मन्त्रालय वा निर्देशनालायलाई खबर गरीदिन देवकोटाले सबैलाइ आग्रह गरेका छन् ।