अन्नपूर्ण गाउँपालिका–३,दानामा निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको सबस्टेशनमा लगाएको तालाबन्दी खोल्ने सहमति भएको छ । पटक–पटकको लिखित तथा मौखिम अनुरोधलाई आयोजना पक्षले बेवास्ता गरेको भन्दै गत असार १० गते विहानै स्थानीय जनप्रतिनिधि सहितको टोलीले अनिश्चितकालिन तालाबन्दी गरेको थियो ।आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा स्थानीयले आयोजनालाई अनावश्यक माग तेर्साउने काम नगरेको बताउँदै ज्ञानप्रकाश माविसम्म पुग्ने सडक फराकिलो, आमा समुह र यूवा क्लव लगायत केही साना मागहरू राखेको संघर्ष समितिका संयोजक सुरत केसीले बताउनुभयो ।

आफ्ना माग सहित गाउँपालिका अध्यक्ष डम बहादुर पुन, वडा अध्यक्ष नरसिंह बहादुर पूर्जा, नेपाली कांग्रेस अन्नपूर्ण सभापति बेलबहादुर पूर्जा, आमा समुह, यूवा क्लवका प्रतिनिधि सहितको टोलीले विगतमा गरिएको प्रतिबद्धता अनुसारकै माग स्थानीयले गरेको बताएका थिए ।

छलफलमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, मालपोत अधिकृत कृष्णबहादुर कार्की,आयोजना प्रमुख चन्दन कुमार घोष लगायतको उपस्थिती रहेको थियो । छलफलपछि स्थानीयको मागमध्ये तत्काल बेनी–जोमसोम सडकबाट ज्ञानप्रकाश माविसम्म जाने सडकको स्तरोन्नती गर्ने सहमति भएको छ । त्यस्तै स्थानीय सृजनशिल महिला सहकारी संस्था, रुप्से युवा क्लवका खेलमैदान र सामुदायिक भवन, तटबन्धनमा समेत सघाउन प्राधिकरणमा समेत अनुरोध गर्ने सहमति भएको छ । हाल आयोजनाले २० लाख बराबरको योजनामा सघाउने छ ।

छलफल मुआब्जा निर्धारण समितिका संयोजक समेत रहेका प्रजिअ ढकालले तालाबन्दी लगायतका कार्यक्रमका बारेमा जानकारी सहित आयोजना पक्षले समेत प्रतिबद्धता अनुसार सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

छलफलमा आयोजना सम्पन्न भएसँगै दानाबासीलाई नियमित विद्युत, अन्नपूर्ण गापालाई नै लोडसेडिङ्ग मुक्त, शिक्षा, स्वास्थ्य, सामाजिक संघसंस्था सहित समुदायलाई रोजगारको वातावरणमा समेत सघाउने विषयमा समेत छलफल भएको थियो ।