प्रर्याप्त बर्षाको कारण यसबर्ष मध्य असारसम्म म्याग्दीमा जिल्लामा ३८ प्रतिशत रोपाई सकिएको छ । मानो छरेर मुरी उब्जाउने असारमा विगतका बर्षमा भन्दा समयमै मनसुन बर्षाका कारण खोलानदीमा मूल फुट्ने, सिचाई सुविधाका कारण असार १५ भित्र जिल्लाको तल्लो र माथिल्लो क्षेत्रमा ३५ देखि ३८ प्रतिशतको हाराहारीमा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइराललले बताउनुभयो ।

‘उत्पादन बढ्ने अनुमान गरिएको छ,‘नियमित बर्षाले रोपाईमा सहज भएको छ’ कोइरालले भन्नुभयो । जिल्लाको उपल्लो भेगमा जेठ महिनाकै अन्तिम सातादेखि धमाधम रोपाई सुरु भएको थियो भने तल्लो भेगमा असारको पहिलो सातामै धान रोपाई भइरहेको छ ।

विगतका बर्षमा असारको दोस्रोसातासम्म करिव २० प्रतिशत धान रोपाई हुने गरेको थियो । यसबर्ष पछिल्लो आधादशक यताकै सबैभन्दा धेरै रोपाई भएको प्रमुख कोइरालले बताउनुभयो । कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् ।

जिल्लामा कुल ३० हजार ८ सय ५६ क्षेत्रफलमा कृषि खेती हुन्छ । जिल्लामा १२ हजार ७ सय ३ मेट्रिक टन धान उत्पादनको अनुमान गरिएपनि बेनी नगरपालिका सहित अन्य पाँच वटै स्थानीय तहका बाँधो खेतका कारण कुल जनसंख्याको अनुपातमा १४ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ । विगतमा बाँझो राखिएको जमिनलाई स्थानीय तहले कोरोनाको जोखिमसँगै धमाधम प्रयोगमा ल्याउन प्रोत्साहन गरेपछि यसबर्ष बाँझो जमिनमा केृषि खेती सुरु भएकाले बाँझो जमिन कम देखिने स्थानीय तहले जनाएको छ ।

मुख्य बाली धान समेत जिल्ला बाहिरबाट आयात गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न कृषि ज्ञान केन्द्रले समेत यूवा लक्षित कार्यक्रम सहित स्थानीय तहमा अनुदानले समेत कृषिजन्य बस्तुको आयातमा गिरावट आउने अनुमान गरिएको छ । यसैबीच कोरोनो जोखिमले यसबर्ष असार १५ मा धान दिवसको औपचारिक कार्यक्रम गरिएको छैन् ।