बारा र पर्सा हुँदै भित्रिएको सलहले मकवानपुरको गढीमा मात्रै एक हजार हेक्टर जमिनको मकै सखाप पारेको छ । सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले पहिलो क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन । हालसम्मको प्रारम्भिक विवरणअनुसार १२ ओटा जिल्लामा सलहले क्षति पुर्याएको उनले पुष्टि गरे ।

हालसम्म सलहले पुर्याएको क्षतिबारे सुवेदीले भने,‘आइतबार र सोमबार मकवानपुरगढी गाविस क्षेत्रको झन्डै एक हजार हेक्टर जमिनमा लगाएको मकैमा क्षति पुर्याएको विवरण आएको छ ।’ यता, रुपन्देहीको सैनामैनामा पनि केही क्षेत्रको मकैमा क्षति पुर्याएको उनले जानकारी दिए ।

त्यहाँ दुई घन्टा मात्रै सलह बसेको थियो । यकिन विवरण आइसकेको छैन् । पूरै क्षति भने भएको छैन् ।अरु ठाउँमा त्यति ठूलो नोक्सानी अहिलेसम्म नगरेको उनको भनाइ छ । पाल्पाको छ्याङ भन्ने स्थानमा पनि आइतबार साँझ केही क्षति गरेको छ । त्यस्तै, गोरखाको बारपाकमा पनि केही क्षेत्रमा सलहले क्षति पुर्याएको छ । तर, यकिन क्षतिको विवरण आइसकेको छैन ।

बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, रुपन्देही, पूर्वी नवलपरासी, कास्की, पाल्पा, कपिलवस्तु, गोरखा लगायतका जिल्लामा सलह देखिएको उनले बताए । तर, सलहका स—साना झुण्ड अन्य जिल्लामा  पुगे पनि पुष्टि हुन बाँकी छ ।

आइतबार साँझ भारतको बोर्डर हुँदै कपिलवस्तुमा छिरेको ठूलो झुण्डको सलह पनि बाँडिएको छ । त्यो झुण्ड अहिले अर्घाखाँची र गोरखा तिर उडान भरेको सुवेदीले बताए । केही झुण्ड विभाजित भएर दाङ र प्युठान तिर लागेको छ । सलह कता जाँदैछ भनेर लोकेसन ट्रयाकिङ भइरहेको उनले जानकारी दिए । Source: capitalnepal.com