‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा बेनी नगरपालिकाका शिक्षकले १३ लाखभन्दा बढी सहयोग गरेका छन् । नगरपालिका भित्र सञ्चालित आधारभुत तथा मावि तहका शिक्षकले आफ्नो तलबबाट १३ लाख १५ हजार ९८२ रुपैयाँ सहयोग गरेका हुन् ।

नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत नेपाल राष्ट्रिय शिक्षक संघले संयुक्त पहलमा नगरपालिकाको कोरोना कोषमा उक्त रकम जम्मा भएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए ।

उनका अनुसार नगरपालिकाले स्थापना गरेको आपत्कालिन कोरोना कोषमा नगरपालिका भित्रका ३६२ शिक्षमध्ये माविका शिक्षकले ५ दिन र आधारभुत तहका शिक्षकले ३ दिन बराबरको तलब सहयोग गरेका थिए।

तलब बापतको सहयोग प्रअ बैंठकमा मेयर हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीलाई बेनी नगरपालिका शिक्षक महासंघका अध्यक्ष दिपक श्रेष्ठ, जामुनाखर्क माविका प्रअ सोमनाथ ढुगाना र प्रकाश माविका प्रअ हरिकृष्ण सुबेदीले सहयोग हस्तान्तरण गरेका थिए ।

आधारभुत र मावि तह गरी बेनी नगरमा ५४ विद्यालय रहेका छन् ।सहयोग हस्तान्तरण कार्यक्रममा कोरोना रोकथाममा प्रयास तथा अभियानमा शिक्षकले एकमुष्ठ रुपमा सहयोग गरी विपद्मा सहकार्यको नमुना प्रस्तुत गरेको मेयर श्रेष्ठले बताए । यसैबीच म्याग्दीमा सबै स्थानीय तहले शिक्षकको तलबबापतको रकम कोषमा जम्मा गरिसकेको छ ।