म्याग्दीको सदरमुकाम बेनीमा तीन हजार जनालाई निशुल्क होमियोप्याथिक औषधी वितरण गरिएको छ । मारवाडी सेवा समिति नेपालको सहयोग र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा मंगलबार रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधी वितरण गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजि कार्यक्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीको उपयोग, सेवनको विधि र महत्वका बारेमा संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी गराउनुभएको थियो ।

मारवाडी सेवा समितिले म्याग्दी र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीलाई लक्षित गरी थप औषधी उपलब्ध गराउने संघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष जिवनकुमार विश्वकर्मा, पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ, म्याग्दी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिती रहेको थियो । कोरोना भाइरस बिरुद्धको औषधी पत्ता नलागी सकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधी उपयोगी हुने बताइएपनि कोरोनासँग मात्रै सम्बन्धित नभएको बताउँदै प्रतिरोधात्मक क्षमता बढाउने औषधीले अन्य रोगबाट ग्रसितहरुलाई समेत सहज हुने बताइएको थियो । बेनीमा थप माग भएपछि मारवाडी सेवालाई अनुरोध समेत गरिएको छ ।