म्याग्दीमा ब्यवसायीक सुन्तला खेतीलाई प्रोत्साहन गर्न २१ हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकार्यान्वयन इकाई मार्फत सुन्तला जोन कार्यक्रममार्फत सुन्तला पकेट क्षेत्रसँगै जिल्लाभर सुन्तला खेतीमा आर्कषित किसानलाई पचास प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराएको परियोजनाकी नायव प्राविधिक सहायक रुपा विकले बताईन् ।

जिल्ला बाहिरबाट प्रति गोटा ३० रुपैयाँमा खरिद गरी किसानलाई १५ रुपैयाँमा उपलब्ध गराइएको बिकको भनाई छ।‘सुन्तला खेतीमा आर्कषण देखिएको छ,‘ जिल्ला भित्रको नर्सरीमा उत्पादित बिरुवा समेत लगेकोले बर्षेनी ठूलो संख्यामा नयाँ बिरुवा रोपिदैछन्’ उनले भनिन्।

जिल्लाभित्रको नर्सरीमा उत्पादित बिरुवाले माग ठेग्न नसकेपछि अन्य जिल्लाबाट समेत खरिद गरी उपलब्ध गराइएको हो । परियोजनामार्फत बेनी नगरपालिकामा १० हजार, मंगला गाउँपालिका ८ हजार, अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकाका किसानले समेत बिरुवा लगेका छन् । जिल्लामा बेनपा–३ भकिम्लीको राखु, मरेक, र बेनपा–४ बास्कुना, मंगला गाउँपालिकाको बंरजामा धेरै सुन्तला उत्पादन हुन्छ । सुन्तला जोन बाहेक किसानले दोब्वर नयाँ बिरुवा रोपेका छन् ।

ब्यवसायीक सुन्तला खेतीमा आर्कषित भएका किसानले बर्षेनी करोडौको सुन्तला जिल्लाबाहिर निर्यात गर्ने गरेका छन् । किसानलाई आत्मनिर्भर व्यवसायी बनाउन, युवाको पलायन रोक्न, खाद्य तथा पोषणको सुरुक्षा सुनिश्चितता गर्न र कृषि क्षेत्रको आधुनिकीकरण गर्न स्थानीय तहले समेत हरेक बर्ष बिरुवा वितरण गर्ने गरेका छन् ।