म्याग्दीमा चारवटा शाखा रहेको गरिमा विकास बैंकले यातायात व्यवसायीले लिएको कर्जामा एक महिनाको व्याज छुट दिएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै ‘हायर पर्चेज’ कर्जा लिएका ग्राहकलाई एक महिनाको व्याज छुट दिने भएको हो ।

कोरोना भाइरसको कारण सरकारले गरेकाे लकडाउनमा ग्यारेजमै थन्किएका यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन नहुँदा आर्थिक समस्या परेका व्यवसायीहरुलाई राहत स्वरुप बैंकले सो व्यवस्था गरेको हो ।बैंकले नेपाल राष्ट्र बैंकले निर्देशन गरेको दुई प्रतिशत बिन्दु व्याज छुट दिएको बताउँदै ग्राहकमा परेको समस्यालाई मध्यनजर गर्दै असार महिनाको व्याज छुट दिने भएको हो ।

विकास बैंकले सवारी साधन समेत धितो राखेका यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन(बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको ‘हायर पर्चेज’ शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही(ऋणी)हरुलाई असार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने निर्णय गरेको छ ।

उक्त सेवाग्राहीहरुले असार मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको गरिमाले जिल्लाका सबै बस्तीमा जनतालाई बैकिङ पहुँचभित्र राख्ने गरी शाखाबाट सेवा उपलब्ध गराउने गरेको छ ।