पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा १ सय १२ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७६÷७७ मा माग भई आएका योजनाहरुको प्राथमिकीकरण गरी युवाहरुलाई रोजगारको अवसर दिइएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा सकिएको १५ लाख रुपैयाँको लागतमा रुमको खबाङ–दम्सीलेक खानेपानी मर्मत योजना तथा खहरेखोलादेखि देउराली आधारभूत विद्यालय हुँदै घाङ्लेपानीसम्म गोरेटो बाटो निर्माणसम्पन्न गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सावित्री गर्बुजाले जानकारी दिनुभयो । उक्त आयोजनाहरुमार्फत सुचीकृत बेरोजगार व्यक्तिहरुलाई रोजगार प्रदान गरिएको थियो । स्थानीयस्तरमा विकास निर्माणका कार्यमा मद्दत पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको आयोजनाबाट १ सय १२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका हुन् । गतवर्ष पनि मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विभिन्न योजनाहरु सञ्चालन गरी रोजगारी दिएको थियो ।