बागलुङका युवा व्यवसायी निर्माणकुमार श्रेष्ठले आफ्नो श्रीमतीको जन्मदिनको अवसर पारेर २० लाखको सरल बिमा पोलिसी उपहार दिएका छन् । बानपा–२, बागलुङका श्रेष्ठले श्रीमती जुनु श्रेष्ठ (जिसी)लाई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बिमा पोलिसी उपहार दिएका हुन् ।

आफ्नी श्रीमती जुनु ४१औं वसन्त प्रवेश गरेको सुअवसरमा जन्मदिनको अपार शुभकामनासहित २० लाख रुपैयाँ बराबरको महालक्ष्मी इन्स्योरेन्सको बिमा पोलिसी उपहार दिएको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले जानकारी दिनुभयो ।

श्रीमतीलाई बिमा पोलिसी उपहार दिँदै श्रेष्ठले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै आक्रान्त बनेको अवस्थामा जन्मदिनमा फजुल खर्च गर्नुभन्दा जीवन बिमा गरेको बताउनुभयो । बिमाप्रति आफ्नो परिवार सचेत रहेकाले आजको अवस्थामा जीवन बिमा अत्यावश्यक सेवा भैसकेको हुँदा जन्मदिनको अनावश्यक खर्चलाई कटाएर बिमातर्फ लगानी गरेको युवा व्यवसायी श्रेष्ठको भनाइ छ । जुनु श्रेष्ठ (जिसी) महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बागलुङ शाखाको स्थापनाकालदेखि नै सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ ।

अनावश्यक रुपमा हुने खर्च सामाजिक क्षेत्र तथा बिमाको क्षेत्रमा लगानी गरेमा समाजमा बिमाको सचेतना वृद्धि हुनुका साथै पहुँच समेत बढ्ने देखिन्छ । पछिल्लो समय जन्मदिन, वैवाहिक उत्सव, आफन्तको सभ्झना गर्दै इन्स्योरेन्स गर्ने तथा सामाजिक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै जान थालेको छ ।