Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

एमसीसीको कार्यान्वयन गर्ने म्याद थप्‍न पत्र

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै कार्यान्वयनमा जाने समय थपबारे छलफल गर्न आग्रह गरेको हो ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेको पत्रमा कोभिड–१९ महामारीका कारण पूर्वतयारी गर्न नसकिएको भन्दै पत्राचार गरिएको स्रोतको दाबी छ । ‘कोभिड–१९ का कारण केही महिना म्याद थप गर्नका लागि छलफल गर्न प्रस्ताव गरिएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । एमसीसीलाई पठाएको पत्रमा संसद्बाट अनुमोदनको विषय उल्लेख गरिएको छैन ।

कोभिड–१९ का कारण काम प्रभावित भएकाले कार्यान्वयनमा जाने मिति थप गर्ने विषयमा छलफलका लागि आग्रह मात्रै गरिएको स्रोतको दाबी छ । यसबारे अर्थ मन्त्रालयले औपचारिक प्रतिक्रिया भने दिन चाहेको छैन। परराष्ट्र मन्त्रालयले पत्राचारको काम अर्थ मन्त्रालयको वैदेशिक महाशाखाले गर्न सक्ने र उसैलाई आधिकारिक जानकारी हुने प्रतिक्रिया दिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Exit mobile version