फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडियाे फेसबुकले हटाएको छ । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले  बुधरबार राति  फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन् । उनको त्यो भिडिओ हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै पत्राचार गरेको थियो । फेसबुकले उक्त भिडियाे शुक्रबार हटाएकाे हाे ।

उक्त भिडियाे हटाउने प्रक्रिया सुरू गरिदिन इप्रका दाङले साइबर क्राइम ब्यूरोलाई खबर गरेको थियाे । त्यसपछि  साइबर क्राइम ब्युरोले उक्त भिडियाे हटाइदिन फेसबुकलाई पत्राचार गरेकाे थियाे ।

इप्रका दाङले उक्त भिडिओ हटाउनका लागि मोबाइल पसलमा पुगेर प्रयास गरे पनि त्यो सम्भव नभपछि इप्रकाबाट साइबर क्राइम ब्यूरोलाई खबर गरेकाे थियाे ।मृतकले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकी थिइन् । मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा मोबाइल खोल्न अझै सकिएकाे छैन ।