ठाडो खोला बर्खायाममा उर्लिएर आउँदा आवतजावतमा समस्या भएपछि अर्जेखोलामा स्थानीयले काठे पुल (साँगु) बनाएका छन् । बेनी नगरपालिका-४ र मंगला गाउँपालिका–३ जोड्ने खोलामा बर्खायामका आवतजावत गर्दा बगाउने जोखिमलाई मध्यनजर गरी दुवै क्षेत्रका बासिन्दाले शनिबार दिनभरी श्रमदान गरी साँगु बनाएको बेनपा-४ का यूवा लोकेश पुन मगरले बताए ।

उनका अनुसार पुरानो साँगु जिर्ण भएपछि स्थानीयको प्रयासमा नयाँ बनाइएको बताए । साँगु बनाउन दैनिकजसो सदरमुकाम बेनी र बरंजा जाने आल्टा, खर्क,कलंकुर, देबिनडाँडा लगायतका स्थानबाट करिब ४० जनाले श्रमदान गरेको बरंजा खर्क आल्टाका यूवा गणेश केसीले बताए ।

उनका अनुसार हाल निर्मित साँगुबाट करिब ५० मिटर तल काठे पुल भएपनि करिब ८ बर्ष अगाडी खोलाले बगाएको बताए । ‘बर्खामा बालबालिका हिड्न सक्दैनन्,‘दुवै पालिकाबाट पक्की पुल बनाइदिए स्थानीय खुसी हुने थिए’ केसीले भने । उनले श्रमदानमा बृद्धहरु समेत उपस्थिती भएको बताए । उक्त स्थानमा बेनपा र मंगला बाहेक छिमेकी बागलुङका विभिन्न बस्तीका बासिन्दाले समेत प्रयोग गर्ने गर्ने स्थानीयको भनाई छ । ‘बर्खाको समयमा खोलाले बगाउला भन्ने पिर छ, ‘नियमित मर्मतमा जुट्छौ’ स्थानीय अर्का यूवा रन घर्तीले भने ।

उनले खोलामा यात्रा गर्न मिल्ने पक्की पुलको आवश्यकताका बारेमा पटकपटक माग गरिएको बताए। उनले स्थानीयको सक्रियतामा साँगु बनाइएपनि बर्खाको समयमा जोखिम कायमै रहेको बताए ।

विगतमा बनाइएको काठे साँगु तर्दैगर्दा साँगु झाँच्चिने जोखिम भएपछि स्थानीय एकजुट भएर नयाँ साँगु बनाएको उनले बताए । मर्मतसम्भार सहित आवश्यकता अनुसार थप संरचना समेत बनाउने स्थानीयको भनाई छ ।

Leave a Reply