कोरोना भाइरस(काेभिड १९) सङ्क्रमणबाट विदेशमा थप १३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको तथ्यांकले देखाउँछ ।समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।

यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दारको काम तीब्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ ।