पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण हुने भएको छ । गाउँपालिका भित्र उत्पादन हुने सुन्तलाका साथै आलु लगायतका तरकारीलाई अफसिजनमा बजारमा लैजाने गरी आव २०७७÷०७८ बजेट समेत विनियोजन गरिसकिएको छ ।

गाउँपालिकाले निति तथा कार्यक्रमसँगै बजेटमा समेत कृषि उत्पादनलाई प्राथमिकता दिने गरी सिजनमा सस्तो मुल्यमा बजारमा जाने सुन्तला लगायत कृषिजन्य बस्तुलार्ई अफसिजनमा तेब्बर मुल्यमा बजारमा लैजाने गरी शीतभण्डार बनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बेनीअनलाइनलाई बताउनुभयो ।

‘कोल्डस्टोर किसानको पनि माग थियो,‘एउटा आर्कषक कोल्डस्टोरले किसानको आम्दानी फेरिने छ’ गौतमले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा ९२ लाख ७० हजार बजेट विनियोजन गरेको छ ।

मंगला भित्रका विभिन्न वडामा बार्षिक करोडोको हाराहारीमा सुन्तला उत्पादन हुने गरेको छ भने अन्य नयाँ स्थानमा सुन्तलाको पकेट क्षेत्रहरु समेत विस्तार भइरहेको अवस्थामा कोल्डस्टोरको प्रयोगले बाहिरी जिल्लामा समेत विक्री गर्न सहज हुने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

‘यहाँ सुन्तला बाहेक अन्य फलफुल खेतीमा समेत विस्तारै आर्कषण बढेको छ,‘सिजनमा बिक्री हुदैन, अफसिजनमा खोजेर पाइदैन’ रोकाले भन्नुभयो । उहाँले कोल्डस्टोरका लागि बजेट विनियोजन भएकाले प्रदेश र संघीय सरकारको साझेदारीमा समेत सम्पन्न गर्ने बताउनुभयो ।

गाउँपालिकाका सबै वडालाई उपयुक्त हुने स्थानको छनौट गरी मापदण्ड अनुसार आर्कषक शीत भण्डार बनाउन डिपिआर समेत तयार गरिने बताउनुभयो । आगामी आवमै सञ्चालनमा ल्याउने गरी बजेट कार्यान्वयन भएलगत्तै प्रक्रिया अगाडी बढाउने अध्यक्ष रोकाको भनाई छ । गाउँपालिकाले कृषिसँगै एक वडा एक पशुपकेट क्षेत्रमा प्रति वडा ५ लाख विनियोजन गरेको छ । त्यस्तै रोजगार गुमेका र बेरोजगारीलाई समेत बजेटमा प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ ।