म्याग्दीमा बाढीपहिरोले जनधनको क्षती पुर्याएपछि नेपाली कांग्रेस म्याग्दीले १ लाखको राहत कोष स्थापनासँगै उद्धारमा खटिन अपिल गरेको छ। शुक्रबार जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो मानवीय क्षती पुगेपछि पार्टी सभापति खम्बीर गर्बुजाले पार्टीकोतर्फबाट राहत कोष खडा गरेर आफ्नो समर्थक तथा शुभेच्छुकसँग सहयोगका लागि अपिल गर्नुभएको छ ।

एक विज्ञप्ती निकाल्दै पार्टीको तर्फबाट प्रभु बैंकमा राहत कोषको स्थापना गरी स्वदेश तथा विदेशमा रहेकालाई राहत अभियानमा सहभागी हुन अपिल गरिएको नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले जानकारी दिनुभयो ।

कोषमा पार्टी बाहेक पदाधिकारी सहित कार्यकर्ताले समेत रकम जम्मा गर्न सुरु गरेका छन् । केहीदिनमा जम्मा भएको आर्थिकलाई आवश्यक प्रक्रिया पुरा गरी हस्तान्तरण गरिने छ ।

बाढीपहिरोले थप क्षतीको सम्भावनालाई मध्यनजर गदैं सरकारलाई समेत उद्धारमा प्रभावकारी कदम चाल्न समेत कांग्रेसले अनुरोध गरेको छ । विपद्मा आवश्यकता अनुसार सहकार्य गर्ने कांग्रेसले जनाएको छ । यता नेपाल कम्युनिष्ट पार्टी नेकपाले बाढीपहिरोबाट बेपत्ताको खोजीकार्य सहित जोखिमपूर्ण स्थानमा रहेकालाई उद्धारमा सघाउन अपिल गरेको छ ।

नेकपाका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा विपद्मा उद्धार सहित राहत अभियानलाई प्रभावकारी बनाउन अनुरोध गरिएको छ । नेकपा र नेपाली कांग्रेसले भातृ संगठनलाई समेत उद्धारमा खटिन निर्देशन दिएको छ ।

विज्ञापन