म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा बाढीपहिरोमा फसेकोको उद्धारमा गएको नेपाली सेनाको एमआई १७ हेलिकप्टर प्रतिकुल मौसमका कारण उद्धार गर्न नसकी फर्किएको छ । लगातारको बर्षा र हुस्सुका कारण घटनास्थल जान नसकी फर्किएको नेपाली सेनाको श्रीबक्स गुल्मपति मेजर सुरेश देवकोटाले बेनीअनलाइनलाई जानकारी दिनुभयो । ‘दुईपटक प्रयास गरियो,‘प्रतिकुल मौसमले पुग्न सकिएन’ देवकोटाले भन्नुभयो ।

उद्धार सहित घटनास्थलको निरिक्षण गर्न पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेकबाट उपरथी गोकुल भण्डारी समेत सोही हेलिकप्टरमार्फत आउनुभएको थियो । शुक्रबार अर्थुङ्गेको ब्यारेकमा बसेर दुईपटक प्रयासलाई मौसमले साथ नदिएपछि शनिबार पुनः उद्धारमा आउने गरी पोखरा फर्किएको छ ।

पहिरोले अलपत्र मालिका गापा–७ बिममा २० जना अलपत्र परेका छन् भने मराङका विभिन्न स्थानमा करिब ५० भन्दा धेरै अलपत्र अवस्थामा छन् । केही स्थानमामा हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने अवस्थामा रहेको मराङका वडा अध्यक्ष राजाराम सुबेदीको भनाई छ ।

यसैबीच नेपाली सेनाको एक टोली स्थलमार्ग हुदै पहिरोस्थलमा प्रस्थान गरेपनि सडक अवरुद्ध र ठाउँठाउँमा जोखिमका कारण यो समाचार तयार पार्दासम्म घटनास्थलमा पुग्न सकेको छैन् घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोली समेत विहानै प्रस्थान गरेपनि समस्या भइरहेको छ ।

यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर लगायतको टोली समेत घटनास्थलतर्फ लागेपनि अवरुद्ध सडक पन्छाउन समस्या भएपछि फर्किएको छ । स्थलमार्गबाट समस्या भएपछि हवाईमार्ग हुदै उद्धारमा जुटेको प्रजिअ ढकालको भनाई छ । यता धवलागिरी गाउँपालिका–६ मराङका अध्यक्षन राजाराम सुबेदीले हालसम्म वडाभित्र २१ जना बेपत्ता भएका छन भने ८ जना घाईते छन्।

Leave a Reply