पोखरा सराङकोटकी पिंकी थापा मगरले गते र बार एकै दिन परेपछि बिहीबार पहिलोपल्ट आफ्नो जन्मदिन मनाउने सुर कसिन् । बुबाआमाले आफन्त र छरछिमेकलाई बोलाए । खुसी मनाए । २१ पुगेर २२ टेकेकी पिंकीको खुसी आधी रातमा खोसियो । घरमाथिबाट पहिरो खस्यो । जन्मदिनको उत्सवमा जुटेका पाँच जनाले तत्कालै ज्यान गुमाए ।

पिंकीले ५० वर्षीय बुबा टंकबहादुर र ४५ वर्षीया आमा सोममायालाई गुमाइन् । पाहुना आएकी सोममायाकी बहिनी सरस्वती श्रेष्ठले आठ वर्षीय छोरा शीतल श्रेष्ठलाई गुमाइन् । टंकबहादुरका माइला दाइ शेरबहादुरले ६ वर्षीय नाति सुवान थापा र ११ वर्षीया नातिनी इशीका राईलाई गुमाए । शुक्रबार बिहान साढे २ बजे खसेको पहिरोले पोखरा–१८ सराङकोटको गोठादी गाउँ मृत्युको शोकमा डुब्यो ।

तनहुँ सागे गिरेपानीबाट बिहीबार पिंकीको जन्मदिन मनाउन सरस्वती दुई छोरा शीतल र सन्देशलाई लिएर आएकी थिइन् । चार दिन यतै बस्ने, बहिनी र दिदीका दुई छोरीलाई गाउँमा लिएर जाने योजना थियो उनको । ज्यान गुमाउने सुवान र इशीका हजुरआमा रत्ना थापासँग पछि लागेर पिंकीको घरमा पुगेका थिए । जन्मदिनमा आएका पिंकीकी फुपू चिजा गुरुङ, सुस्मिता गुरुङ, माइलाबुबाको छोरा श्याम थापा, छिमेकी राजेन्द्र थापा भने खानपिन गरेर घर फर्किएका थिए । बाँकी १३ जना दुईवटा कोठामा बाँडिएर सुतेका थिए ।

टिनले छाएको तीन कोठे घरको एउटा कोठामा पिंकीका बुबा, आमा, सरस्वती र उनका दुई छोरा, श्यामका छोरा सुवान सुते । राति ११ बजे पिंकी र उनकी छोरी पिरिसा, पिंकीकी बहिनी आशा, माइलाबुबाको कान्छा छोरा रसी र उनको साथी अनिश तामाङ, साइलाबुबाकी छोरी रश्मिसहित सात जना अर्को कोठामा बसेका थिए । केही बेरमै सबै मस्त निद्रामा परे । एक्कासि चटयाङको आवाजले निद्रा भंग गरिदियो । सरस्वतीले जेठो छोरा १० वर्षीय सन्देश ‘मम्मी, मम्मी’ भन्दै चिच्याएको सुनिन् । दिदी सोममायाले ‘सरस्वती, सरस्वती’ भन्दै कताकता बोलाएको सुनिन् । उनलाई भने केले केले थिचेको जस्तो भयो । ‘यसो आँखा खोलेर हेरेको बाहिर उज्यालो थियो,’ मणिपाल अस्पतालमा उपचार गरिरहेकी उनले भनिन्, ‘माथितिर हेरेको पहिरो खसिरहेको देखें । मैमाथि आकाश खसेजस्तो भयो ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

विज्ञापन