परिवारको आफन्तहरुलाई दागबत्ती दिने र काजकिरिया गर्ने जो कसैको परिवारको पनि चाहना हुन्छ नै । परिवारका सदस्यहरुमै दागबत्ती दिनका लागि हानथाप हुने गर्छ तर म्याग्दीको बिममा गएको पहिरोमा पर्ने वीरबहादुर नेपालीको परिवारका छ जनालाई दागबत्ती दिने घरका कोही पनि बचेनन् । एक जना गम्भीर

घाइते भएर बाच्नुभयो भने दुई भाईका परिवारको छ जना सबैको मृत्यु भयो ।बिहीबार रातिदेखि अविरल वर्षा भैरहेको थियो । चारैतिर अध्याँरो पूर्णिमा पछिको रात । आकाशबाट पानी भाँडो बाटै घोप्टाए जसरी परेको थियो । बिजुली चम्कदो रात त्यही माथि वादलको गड्याङगुडुङ् ।

मस्त निद्रामा रहेका नागरिकहरु विहान ३ बजे पछि जब भिर पाखा पहराहरु भत्कीएर गाउँ तर्फ बगे अनि बगायो बिम तथा मराङका मानवबस्ती अनि सँगै त्यही बस्तीमा मस्त निद्रामा रहेका ३१ जनालाई पनि बगायो उनीहरुकै जिन्दगी सँगै । अहिले सम्म २७ जनाको सब भेटियो बिम र मराङमा भने अझैँ पनि ४ जना बेपत्ता छन् ।

मालिका गाउँपालिका–७, बिमका गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, बिरबहादुरका ३ महिनाका छोरा, बिष्णु नेपाली र सन्दीप नेपालीले संसार छाडे पहिरोमा पुरिएर भने एक जना गम्भिर घाइते भएर पूर्णबहादुर नेपाली । पोखरामा उपचाररत रहनु हुन्छ पूर्ण अहिले । गम्भीर घाइते भएर उपचारका लागि पोखरा अस्पतालमा पूर्णबहादुर छट्पटाइ रहनुभएको छ । आफ्नो र भाई बिरबहादुरको सबै परिवारको मृत्यु भयो । उहाँले परिवारलाई जोगाउन खोज्दै गर्दा आफै गम्भीर घाइते हुनुभयो ।

२६ गते बिहान ३ बजे गम्भीर घाइते हुनुभएका उहाँ २७ गते शनिबार दिउँसो सम्म छट्पटाएरै भग्नावशेषमा रहनुभयो उनलाई बेनीका नारायण जिसीको पहलमा प्रभु एयरको हेलिकोप्टरले उद्धार गरी पोखरा पु¥यायो ।

आफू घाइत अवस्थाको पिडाले छट्पटी रहेका पूर्णले आफ्नो परिवारका ६ जनाको लास हेर्न र दागबत्ती सम्म पनि दिन नपाएको पिडाले अहिले निकै सताइ रहेको छ । उहाँको परिवारको सबलाई दागबत्ती नाताले काका पर्ने एक जनाले दिनुभयो ।

बिमकै ४० वर्षिया विष्णु र ४ वर्षिय बहिनी इच्छा गुमाएका १० वर्षिय बालक आफ्नो ठुलोबुबाको घरमा किरिया बसेका छन् । मालिका गाउँपालिका–७ बिमबाट १५ किलोमिटर टाढा मंगला गाउँपालिका–२ तराखेतमा किरिया बसेका छन् ।

बहिनी र आमा गुमाएका बालकका बाबा सोमनाथ र उनी भने बिहान अलिक छिटो उठेर बारि निस्केकोले जोगिएका थिए । आफूहरु उठेर बाहिर निस्केको पानी परेको छ भन्दै बहिनी र आमा सुत्नुभयो अनि उहाँहरुलाई हामीले गुमायौं बालक भन्छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटि गएको प्रहरी टोलील घटना सर्जिमिन मुचुल्का बनाएर परिवारलाई हस्तान्तरण गरेका हौं–जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरले भन्नुभयो ।
धौलागिरी गाउँपालिका–६ मराङको राम्चेमा मृत्यु भएका एकाघरका ९ जनाको एकै स्थानमा लहरै राखेर दाहसंस्कार गरिएको थियो । त्यस्तै मराङको बेँसीमा ७ जनालाई एकै ठाउँमा लहरै र अर्का २ जनालाई अर्को ठाउँमा सँगै राखेर दाहसंस्कार गरिएको थियो । अर्को दिन भेटिएका एक जनालाई भने छुट्टै सदगद गरिएको थियो ।
बिमकी एलिसा केसी, मराङ (कल्लेनीका) जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको डिएसपी कुँबरले बताउनुभयो ।

धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को विम, दुले र नुर्बाङमा पहिरो गएको हो। पहिरोमा परेर घाइते भएका ६ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको छ । source:gorkhapatraonline.com