अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेकाको खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरीलाई सूचना आदानप्रदानमा सहज हुने गरी एक यूवाले मोवाईल सहयोग गरेका छन् ।

विकट क्षेत्रमा मोवाईल चार्जको अभाव लगायत विभिन्न समस्यालाई मध्यनजर गरी एकपटक चार्ज गर्दा करिब १० दिन टिक्ने पाँच थान मोवाईल, नेपाल टेलिकमको ५ वटा सिम र एनसेलको पाँचवटा सिममा एक हजारको रिर्चाज सहित समाजसेवी चन्द्रकुमार केसीमार्फत प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरलाई हस्तान्तरण गरिएको छ ।

म्याग्दी जिल्लाको अन्नपूर्ण  गाउँपालिका–१, दोवा स्थायी घर भई हाल अमेरिकाको डल्लासमा बसोबास गर्ने गोविन्द विकले पश्चिम म्याग्दीको धवलागिरी–६, मराङ र मालिका–७, विममा उद्धारमा खटिएका प्रहरीलाई समयमै सूचना आदान प्रदानमा सघाउने गरी सहयोग गरेको जनाइएको छ । गत शुक्रबार मराङ र बिममा गएको पहिरोमा बेपत्ता भएकाको खोजीमा पुगेको उद्धार टोलीसँग छिनछिनमा सम्पर्क गर्नुपर्ने अवस्थामा सम्पर्क समेत हुन नसकेकोे अवस्थामा यो सहयोगले सहज हुने प्रनाउ कुँवरले बताउनुभयो ।

उक्त क्षेत्रमा एनसेलबाट सहज सूचना लिन सकिने प्रनाउ कुँवरको भनाई छ । सहयोगदाता विकले यसअगाडी समेत म्याग्दीमा कोरोना भाइरस बिरुद्धको अभियानमा स्यानिटाईजर टनेल सहित अन्य विभिन्न सहयोग गरेका छन् ।