अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर म्याग्दी जिल्लाका विभिन्न स्थानमा विस्थापित भएकालाई नेपाल इन्भेष्टमेन्ट बैंकले टेन्ट र त्रिपाल सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ठूलो टेन्ट १ सय र त्रिपाल २० थान मंगलबार जिल्ला प्रशासन कार्यालयमा बैकका गण्डकी प्रदेश म्यानेजर विभु श्रेष्ठ, पोखरा म्यानेजर धिरज थापाले जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्नुभएको थियो।

बैंकले म्याग्दीमा बाढीपहिरोमा एकैपटक ठूलो संख्याका ज्यान गुमाउनुका साथै विस्थापत भएपछि पुर्नस्थापना र आपत्कालिन सहयोगमा सघाउने उद्देश्यले उक्त सहयोग गरेको बैंकका गण्डकी प्रदेश म्यानेजर श्रेष्ठको भनाई छ ।

बैंकले उपलब्ध गराएको एउटा टेन्टमा १० जनासम्म बस्न मिल्छ भने भविस्यमा समेत म्याग्दीमा सामाजिक तथा विपद्को क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, नेपाल इन्भेष्टमेन्ट बैंक जलजला शाखाका म्यानेजर दिनेश अर्याल लगायतको उपस्थिती रहेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले उक्त सहयोगलाई प्रभावित क्षेत्रमा पठाउने बताउँदै विपद्मा समुदाय तथा निजी क्षेत्रबाट समेत सहकार्यको आवश्यकता रहेको बताउनुभएको थियो । गएको शुक्रबार मालिका र धवलागिरी गाउँपालिकाका गएको पहिरोबाट विस्थापित भएकालाई बैक तथा वित्तिय संस्थाको तर्फबाट नेपाल इन्भेष्टमेन्ट बैंकको पहिलो सहयोग समेत हो ।

विज्ञापन