मोना यूकेले पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावितलाई तत्काल ३ लाख राहत सहयोग गर्ने भएको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर जिल्लाको धवलागिरी गापा-६, मराङ र मालिका गापा-७, विममा गएको पहिरोमा विस्थापित भएकालाई संस्थामार्फत ३ लाख सहयोग उपलब्ध गराउने निर्णय भएको महासचिव लालु पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा मृतकप्रति समवेदना सहित घाईतको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । गत हप्ताको शुक्रबार रातीदेखी परेको अविरल बर्षासंगै गएको पहिरोमा मराङ र बिममा ठूलो मानवीय क्षती भएको थियो ।

बैठकमा अध्यक्ष दल जुग्जालीले जन्मभूमिमा बाढीपहिरोले पुर्याएको क्षतीबाट स्तब्ध भएको बताउँदै आवश्यक राहत तथा पुर्नस्थापनाको अभियानमा निरन्तर साथ दिने बताउनुभयो । ‘पहिरोमा गाउँलेले ज्यान गुमाउँदा हामीलाई पोलेको छ,‘मानवीय क्षतीसँगै विस्थापितलाई उचित राहतको आवश्यकताका लागि सबैलाई अपिल समेत गर्दछौ’ जुग्जालीले भन्नुभयो ।

मोनाले आकस्मिक रुपमा राहत सहयोग उठाउने कार्य सुरु गरको बताउँदै पुर्नस्थापना र बैकल्पिक स्थापनमा नयाँ बस्तीका लागि समेत मोना आइसीसँग सहकार्य गर्ने कोषाध्यक्ष पदम गर्बुजाले जानकारी दिनुभयो । एकैदिन गएको पहिरोमा मराङ र बिममा २८ जनाको ज्यान गएको थियो भने तीनजना बेपत्ता भएका छन् ।

विज्ञापन