घरमै बस्छन् कोरोना संक्रमित

0

धादिङका एक पुरुषलाई असार २७ मा कोरोना संक्रमण देखियो । कोरियाबाट फागुन १९ मा फर्किएका उनी कहिले धादिङ बस्थे, कहिले काठमाडौं । सरकारले पैसा तिरेर कोरोना परीक्षण गर्ने व्यवस्था ल्याएपछि उनी अस्पताल गएका थिए । परीक्षणमा पोजिटिभ देखियो । ‘कुनै लक्षण थिएन तर रिपोर्ट पोजिटिभ आयो,’ उनले भने, ‘मलाई टेकु अस्पतालमा भर्ना गर्न एम्बुलेन्स पठाउँछु भनेका थिए । मैले घरमै बस्ने प्रस्ताव गरें । सुरक्षित विधि अपनाउँछु भनेपछि मेरो प्रस्ताव स्वीकार भयो ।’

उनी अहिले स्थानीय तहको सहमति र चिकित्सकको निगरानीमा मनमैजुस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । ‘अस्पताल गएर पनि उपचार हुने होइन । त्यहाँ पनि आराम गर्ने हो । त्यसैले घरमा बसेको छु,’ उनले भने । उनी घरकै आइसोलेसनमा बसेको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं महानगरपालिकालाई पनि दिएको छ । त्यही दिन कोरोना देखिएका पर्वत स्थायी घर भएका मनमैजुकै अर्का एक जना पनि घरमै आइसोलेसनमा बसेका छन् ।

चाबहिलका एक रेस्टुरेन्ट सञ्चालकलाई पनि बुधबार कोरोना पुष्टि भयो । लकडाउनमा कतै नगएको उनको दाबी छ । त्यसैले ईडीसीडीले ‘ट्राभल हिस्ट्री’ नभएको संक्रमितमा उनको नाम राखेको छ । रसुवा स्थायी ठेगाना भएका उनी अहिले चन्द्रागिरिमा होम आइसोलेसनमा बसेका छन् । ‘छुट्टै कोठामा बसेको छु । परिवारको सदस्यसँग पनि टाढै छु,’ उनले भने, ‘अरूलाई नसरोस् भन्नेमा सचेत छु ।’ सरकारी कर्मचारीले अस्पतालमा भर्ना हुन एम्बुलेन्स पठाउने प्रस्ताव गरे पनि आफूले घरमै बस्ने जानकारी गराएको उनले बताए । घरकै आइसोलेसनमा बस्नेको संख्या काठमाडौंमा बढ्दो छ ।

 

उनका अनुसार २५ गते संक्रमण पुष्टि भएका १ जना, २६ गतेका ३ जना, २७ का २ जना, २८ का १ जना र २९ का १ जना पनि घरकै आइसोलेसनमा छन् । यस्तै, काठमाडौं उपत्यकामा बुधबार ९ जना संक्रमित देखिएकामा ५ जना घरमै आइसोलेसनमा बसेका छन् ।

धुम्बाराहीका २ जना, १९ दिनअघि कतारबाट आएका काठमाडौं आलापोटका १ जना, ५ दिनअघि भारतबाट आएका ग्वार्कोका १ जना र चाबहिलमा रेस्टुरेन्ट सञ्चालन गर्ने चन्द्रागिरि बस्ने १ जना घरमै आइसोलेसनमा बसेका हुन् । टीकाथलीकी आठमहिने गर्भवती पनि घरमै आइसोलेसनमा छिन् । त्यस्तै हरिसिद्धि क्यान्सर अस्पतालमा उपचाररत बिरामीको सम्पर्कमा जाँदा बानेश्वरका एक पुरुषलाई सोमबार कोरोना देखिएको थियो । उनकै प्रस्तावमा ईडीसीडीले उनलाई पनि घरमै आइसोलेसन बस्न अनुमति दिएको छ ।

घरमा कति सुरक्षित ?
ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले अस्पताल र छुट्टै क्वारेन्टाइनमा जस्तो घरमा सुरक्षित हुने सम्भावना कम हुने बताए । ‘अस्पताल र होल्डिङ सेन्टरमा बसेजस्तो सुरक्षित त अलि हुँदैन,’ उनले भने, ‘मलाई केही लक्षण पनि छैन भनेर संक्रमित घरबाट निस्क्यो भने अवस्था झन् भयावह हुन सक्छ । नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा राख्नुपर्ने हुन्छ ।’ किरियापुत्री जस्तो कसैलाई नछोई टाढै बस्ने हो भने अस्पतालभन्दा घर ठीकै हुने उनको तर्क थियो ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार लक्षणविहीन संक्रमित घरको आइसोलेसनमा बस्नु सर्वथा बेठीक होइन । तर यसरी घरको आइसोलेसनमा बस्दा केही महत्त्वपूर्ण विषयमा ध्यान नपुर्‍याए समस्या आउन सक्छ । ‘घरमा बस्ने संक्रमितको नियमित निगरानी गर्ने व्यवस्था कस्तो छ, त्यो निकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘संक्रमितको श्वासप्रश्वासको दर तथा रगतमा अक्सिजनको मात्रा कति छ भनेर याद गरिरहनुपर्छ । त्यसमा तलमाथि भए अक्सिजन चाहिन सक्छ । यस्तोमा अस्पताल लान ढिला गर्नु हुँदैन ।’

डा. सुवेदीका अनुसार आईसीयू सेवा उपलब्ध अस्पताल नजिक छ भने घरमा बस्नु ठीकै हो । घरबाट अस्पताल टाढा छ भनेचाहिँ आइसोलेसन सेन्टर वा अस्पतालकै निगरानीमा बस्नु कम जोखिमयुक्त हुन्छ । ‘कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो । त्यसैले घरमा बस्दा पनि निगरानीमा बस्नु जरुरी हुन्छ,’ उनले भने ।

अस्पतालको आइसोलेसनमा रहँदा खाना र बस्न अप्ठ्यारो हुने भन्दै केही दिनयता सर्वसाधारण घरकै आइसोलेसनमा बस्न चाहने गरेको डा. पाण्डेको दाबी छ । ‘उनीहरूले हामीलाई कुनै लक्षण छैन, घरमै बस्छु भन्छन्,’ उनले भने, ‘सरकारले पनि घरको आइसोलेसनमा बस्नका लागि मापदण्ड बनाएको छ । त्यो मापदण्डअनुसार बस्न नमिल्ने भने होइन ।’

डा. सुवेदीका अनुसार भने घरको आइसोलेसनमा बस्दा सावधानी अपनाउँदा अपनाउँदै पनि परिवारका अन्य सदस्यलाई सर्ने जोखिम हुन्छ । त्यसैले सरकारले तोकेको सेन्टरमा बस्नु नै ठीक हुन्छ । ‘सबैले सुरक्षाको विधि अपनाउँदैमा शतप्रतिशत सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी छैन,’ उनले भने, ‘अमेरिका जस्तो ठाउँमा पनि घरको आइसोलेसनले असुरक्षा बढाएको हो कि भन्ने गुनासो सुनिन थालेको छ । रोकथामका सबै उपाय अपनाइएका सहरहरूमा पनि संक्रमणको दर बढ्नुको कारक यही हो कि भन्ने छ ।’

घरको आइसोलेसनका मापदण्ड
घरको आइसोलेसनमा बस्नेहरू पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्छ र संक्रमणमुक्त नभएसम्म बाहिर निस्कनु हुँदैन । उनीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री परिवारका अन्य सदस्यले व्यवस्था गरिदिनुपर्छ । उनीहरूले प्रयोग गरेका भाडा राम्रोसँग सफा गरेर सुकेपछि मात्रै पुनः प्रयोग गर्नुपर्छ भने स्नान घर तथा शौचालयको पनि छुट्टै व्यवस्था हुनुपर्छ । एउटै शौचालय छ भने संक्रमितले प्रयोग गरेपछि डिस्इन्फेक्टेन्टले सफा गरेपछि मात्रै अरूले प्रयोग गर्नुपर्छ ।

संक्रमितले दाँत माझ्न प्रयोग गर्ने ब्रसलगायतका व्यक्तिगत सामग्री छुट्टै राख्ने व्यवस्था गर्नुपर्छ । संक्रमितहरूको नियमित सम्पर्कमा आउने ढोका, ढोकाका ह्यान्डल, टेबललगायतका सामग्री पनि डिस्इन्फेक्टेन्ट प्रयोग गरेर समय–समयमा सफा गरिरहनुपर्छ । घरका सबै सदस्यले समय–समयमा नियमित हात धुनुपर्छ भने संक्रमितले आफ्नो कोठामा रहँदा पनि मास्क प्रयोग गर्नुपर्छ ।

संक्रमितलाई घरमा रहेका ६० वर्षमाथिमा व्यक्ति, दीर्घरोगी र बालबालिकाबाट टाढा राख्नुपर्छ । परिवारले संक्रमितको स्वास्थ्य अवस्थाबारे कम्तीमा दिनको दुईपटक सम्बन्धित स्वास्थ्यकर्मी र संस्थालाई जानकारी गराउनुपर्छ । संक्रमितलाई श्वासप्रश्वासमा कठिनाइ भए, छाती दुखे वा भारी भए, ओठ तथा अनुहार नीलो देखिए, होस हराए तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी गराएर अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ । कान्तिपुर दैनिकमा मकर श्रेष्ठ र स्वरूप आचार्यले खबर लेखेका छन् ।

Leave a Reply