जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि बुधबारसम्म देशैभर मध्यमदेखि भारी वर्षा हुने भएकाले सतर्क हुन आग्रह गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सचेत हुन सर्वसाधारणलाई अपिल गरेको छ ।

 

जेठ ३० मा मनसुन सुरु भएदेखि शुक्रबारसम्म बाढीपहिरोका ३ सय १३ वटा घटना भएका छन्, जसमा परेर १ सय ८ जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । प्राधिकरणले साउन दोस्रो र तेस्रो साता विपद्का घटनामा वृद्धि हुने आकलन गरेको छ ।

विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले मनसुन न्यून चापीय रेखा तराई क्षेत्रको नजिक आउने भएकाले लगातार चार दिनसम्म नेपालभर मनसुन सक्रिय हुने उल्लेख गरेकी छन् । मनसुन सक्रिय भएर वर्षा हुँदा मध्यपहाडी क्षेत्र, चुरे तथा तराईमा बहने स–साना नदीनालाहरूमा साउन ९ सम्मै आकस्मिक बहाव हुनेसमेत मौसमविद्हरूको आकलन छ ।

विभागले टोलफ्री नम्बर ११५५ समेत सञ्चालनमा ल्याएको छ । बाढीको सम्भावना भएका नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई बाढी आउनपूर्व नै मोबाइलमा सन्देशसमेत पठाउने तयारी छ । विगतमा यस्तो सन्देशले सम्भावित क्षति रोक्न सहयोग गरेको विभागको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।