अविरल वर्षात् पछि आएको बाढी तथा पहिरोमा परी हराएका ४ जना अझै सम्म पनि नभेटिँदा परिवार तथा आफन्तहरुको पिडा र अन्यौलता यथावत छन् । म्याग्दीको विभिन्न भेगमा गत असार २५ गते राती देखि परेको वर्षात् पछिको बाढी पहिरोबाट ठूलो मात्रामा धनजनको क्षति भयो भने २८ जनाको मृत्यु र ४ जना बेपत्ता छन्। बाढी तथा पहिरोमा परि बेपत्ता भएकाहरुको सव फेला नपर्दा काजकिरिया र सदगतका लागि समेत परिवारमा अन्यौलता छ ।

हाल सम्म पनि २ महिला, १ बालक र १ बालिका बेपत्ता छन्। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आएको बाढी तथा पहिरोमा परि २५ गते मध्येरात पछिको अवस्थामा ३ महिला, १ पुरुष २ बालक र २ बालिका गरी ८ जनाको मृत्युभ भएको थियो भने १ जना गम्भीर घाइते र १ बालिका बेपत्ता भएकी थिइन् । एकै परिवारका ६ जना सहित ८ जनाको मृत्यु भएको बिममा ३० घरका १४१ जना उच्च जोखिमको कारणले गर्दा बिस्थापित भएका छन् ।

मालिका गाउँपालिका–६ दुखुको दुखु खोलाले बगाएर एक महिला बेपत्ता भएकी थिइन् । गत असार २६ गते बिहान बेपत्ता भएकी महिलाको सव साउन २ गते सम्म पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले बताउनुभएको छ ।

पश्चिम म्याग्दीकै धौलागिरी गाउँपालिका–६ मराङमा यस वर्ष हाल सम्मकै ठूलो मात्रामा धनजनको क्षती भएको छ । मराङको रिखमा ३ महिला १ बालक र ३ बालिका गरी ७ जनाको मृत्यु भएको थियो भने २ पुरुष १ बालक र १ बालिका घाइते एवम् एक बालक बेपत्ता रहेका छन् ।

त्यस्तै मराङको राम्चेमा ४ महिला २ पुरुष, ३ बालक र २ बालिका गरी ११ जनाको मृत्यु एवम् १ महिला, २ पुरुष गरी ३ जना घाइते भएका थिए । त्यस्तै कल्लेनीमा १ पुरुषको मृत्यु र १ महिला बेपत्ता छन् । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको ठाडाखानीमा खोलाले बगाउँदा १ जनाको मृत्यु भएको थियो । असार २५ गते पछिको वर्षात्ले गर्दा २८ जनाको मृत्यु ८ घाइते र ४ जना बेपत्ता रहेका छन् ।

सामान्य घाइते ५ जनाको उपचार पछि घर फर्की सकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।बाढी पहिरोल गर्दा जिल्लाका विभिन्न स्थानमा ४४ वटा घर पूर्ण क्षती भएको छ भने ४६ वटा घर आंशिक क्षती भएको छ । मालिका गाउँपालिकाको बिममा २० पूर्ण र ४२ वटा घर आंशिक क्षती हुँदा २७६ जना विस्थापित भएका छन् ।

त्यस्तै धवलागिरीको मराङमा २४ घर पूर्ण रुपमा क्षती भएको छ भने रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेम २ घर पूर्ण क्षती भएको छ । बाढी पहिरोबाट धवलागिरी गाउँपालिकाको मराङमा १७६ जना र रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा २८ जना विस्थापित भएका जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो ।