अधिक बर्षासँगै आएको बाढीपहिरोमा धवलागिरी गाउँपालिमा मानवीयसँगै ठूलो संख्यामा विस्थापित भएपछि पुर्नवास सहितको अभियानमा गाउँपालिका अध्यक्ष थमसरा पुन मगर र उपाध्यक्ष रेशम छन्त्यालले आर्थिक सहयोग सहित सहयोग अभियानमा साथ दिन अपिल गर्नुभएको छ ।

गत असार २५ गत धवलागिरी–६, मराङका विभिन्न बस्तीमा १९ जनाको मृत्यु, २ जना बेपत्ताका साथै गाउँपालिका भित्र करिब २ हजार ३ सयभन्दा बढी विस्थापित भएपछि गाउँपालिका अध्यक्ष पुन मगरले ६० हजार, उपाध्यक्ष रेशम छन्त्यालले ५० हजार राहत कोषमा जम्मा गर्नुभएको गाउँपालिकाका योजना शाखा प्रमुख कृष्णप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

‘अभियानमा साथ दिन सबैलाई अपिल गरेका छौ,‘सबैको साथमा विस्थापितलाई उचित पुर्नवास सम्भव छ’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । उहाँले बाढीपहिरोले चिराचिरा परेको बस्तीलाई पुरानै अवस्थामा उठाउन आवश्यक सहयोगको अभियान सुरु गरिएको बताउनुभयो ।

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण मराङको राम्चे,रिख,कल्लेनी,दमक,कुम्रीका बासिन्दा विस्थापित भएका छन् भने ताकम धारापानीको दलित बस्ती, ताकम, काफलडाँडा लगायतका बास्तीहरु समेत जोखिममा छन् । गाउँपालिकाले आर्थिक सहयोग अभियानका लागि खाता समेत सञ्चालनमा ल्याएको छ भने हरेक गतिविधिलाई जानकारी गराउने गरी योजना शाखा प्रमुख सुबेदीलाई बेनीमा खटाइएको छ ।

इन्टरनेटको अभावका कारण स्वदेश तथा विदेशमा गाउँपालिकामार्फत गरिएको अभियानलाई समयमै जानकारी गराउन नसकिएपछि तत्काल अस्थायी रुपमा बेनीबाट नियमित राहत तथा आर्थिक गतिविधिका बारेमा जानकारी गराउने ब्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो । हालसम्म कोषमा करिब ६ लाख जम्मा भएको छ ।

Leave a Reply