शिक्षक महासंघ म्याग्दीले मङ्गलबार जिल्ला विपद् व्यवस्थापन कोषमा नगद दुईलाख रुपैयाँ सहयोग गरेको छ । शिक्षक महासंघले एक कार्यक्रमको आयोजना गरी म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत विपद् व्यवस्थापन कोषमा सो रकम हस्तान्तरण गरेको हो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष जयराम सुवेदीको नेतृत्वमा प्रजिअ ढकालको कार्यकक्षमा पुगेको टोलीले दुईलाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको महासंघले जनाएको छ । उक्त चेक महासंघका अध्यक्ष सुवेदी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन म्याग्दीका उपाध्यक्ष लेखबहादुर हमाल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष दुर्गाराम सुवेदीसहित शिक्षकहरुको टोलीले प्रजिअ ढकाललाई हस्तान्तरण गरेका थिए ।

नगद रकमसहितको चेक ग्रहण गर्दै प्रजिअ ढकालले शिक्षक महासंघमार्फत उपलब्ध रकम विपद् व्यवस्थापनका लागि खर्च गरिने बताएका छन् । उनले हिमाली जिल्ला म्याग्दी भूगोलका हिसाबले दुर्गम तथा विकट रहेको बताउँदै जुनसुकै समयमा पनि विपद्का घटनाहरु हुन सक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा प्रजिअ ढकालले पछिल्लोपटक जिल्लाको विभिन्न स्थानमा भएका विपद्का घटनाका बारेमा समेत जानकारी गराएका थिए ।

नेपाल शिक्षक महासंघका अध्यक्ष जयराम सुवेदीले म्याग्दी जिल्लाको समग्र शिक्षक तथा विद्यालय कर्मचारीको प्रतिनिधित्व हुनेगरी शिक्षक महासंघको संयोजनमा राहत रकम सङ्कलन गरी सहयोग गरिएको जानकारी दिएका छन् । उनले महासंघमार्फत आगामी दिनमा समेत आउने विपद्मा पर्ने शिक्षकलगायत अन्यलाई सहयोग गर्नका लागि १ दिन बराबरको तलब अनिवार्य अक्षयकोषमा जम्मा गरिने निर्णय गरिएको बताए ।

रकम हस्तान्तरण कार्यक्रममा संविधान सभाका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष सोमनाथ ढुङ्गाना, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशवप्रसाद रेग्मी र माउण्ट एभरेष्ट आवासीय माविका सञ्चालक समिति अध्यक्ष चन्द्रकुमार केसीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन शिक्षक महासंघका सहसचिव विनय श्रेष्ठले सञ्चालन गरेका थिए ।

Leave a Reply