म्याग्दीका एक युवाले बाटोमा भेट्टाएको १० लाख नगद सम्बन्धित व्यक्तिलाई नै फिर्ता दिएर इमान्दारिताको नमुना प्रस्तुत गरेका छन् । बेनी नगरपालिका–८ हुदै आफुँ कार्यरत संस्थामा जाने क्रममा पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङका सुर्यकिरण न्यौपानेले फेला पारेको १० लाख नगद तत्कालै सामाजिक सञ्जाल फेसबुकमा राखेर सम्बन्धित ब्यक्तिलाई दिएका हुन् ।

कालिपुल स्थित संगम हाडवर्यरमा कार्यरत न्यौपानेले सडकमै १० लाखको बिटो भेट्टाएपछि हराउने मान्छेको खोजीमा लागेको बताए । ‘त्यो ठूलो धनराशीले मेरो मन पगाल्न सकेन, ‘हराउने मान्छेको खोजीमा लागे, केही बेरमै हस्तान्तरण गरे’ न्यौपानेले भने । उनले मोटरसाईकलमा यात्रा गरिरहेको अवस्थामा घुम्तीमा भेटिएको ठूलो धनरासीलाई सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गर्न पाउँदा निकै आनन्द महसुस भएको बताए ।

बाटोमा पैसा हराउने यूवा एक जिम्मेबारी संस्थाका प्रतिनिधि भएकाले नाम खुलाउन नचाहेपनि सामाजिक सञ्जालबाटै धन्यवाद दिएको समेत न्यौपानेको भनाई छ। यता माया मारिसकेको पैसा फिर्ता पाउँदा निकै खुसी लागेको यूवाको भनाई छ। एक वित्तिय संस्थाबाट पैसा निकालेर लैजाने क्रममा बाटोमा खसेपछि तत्कालै सामाजिक सञ्जालमा देखेपछि सहज भएको उनले बताए । ‘ब्यक्तिगत होईन्, संस्थागत पैसा भएपनि मेरो जिम्मेबारीमा थियो,‘नभेटिएको भए मैले नै जिम्मा लिनुपथ्र्यो, मेरो जागिर नै धरापमा पर्ने थियो’ उनले बेनीअनलाइनलाई भने । उनले थाहै नपाई पैसा बाटामै खसेको थियो। फेला परेको पैसा सुरक्षित र इमान्दारपूर्वक फिर्ता दिने यूवालाई सधै बाटोमा देखेपछि सम्मान गर्ने उनको भनाई छ ।‘उहाँ मेरो लागि भगवान सम्मान हुनुहुन्छ,‘मैले यो सहयोगलाई कहिल्यै विर्सिन्न’ यूवाले भने । उनको कामले इमान्दारिताका खडेरी लागेको बेलामा बलियो सन्देश समेत बनेको बताए । उदाहरणीय र प्रसंशायोग्य कामको सम्मानमा ब्यक्तिगत सहयोग गर्न चाहेपनि पैसा भेटाउने न्यौपानेले इमान्दारिताको मुल्य नहुने भन्दै कुनै ब्यक्तिगत पुरस्कार लिन चाहेनन् ।

विज्ञापन