बाँफिकोट गाउँपालिका–५ वडगाउँका २० वर्षीय अनिल घर्तीलाई साउन ७ गते छुट्टै उमंग थियो । त्यस दिन साथीसँग मिलेर स्यार्पुतालमा माछा मार्न जाने उनको योजना थियो । त्यसैले अन्य दिनभन्दा सबेरै उठे । साथीलाई पनि उठाएर तयार हुन लगाए ।

बर्खामा बिहान धेरै माछा मार्न सकिन्छ । त्यसैले पनि अनिल साथीहरूलाई छिटो गर्न भनिरहेका थिए । १२–१५ जना साथीहरू भेला भएपछि झोलामा रोटी बोकेर स्यार्पुताल पुगे । स्यार्पुतालमा मिसिने खारखोलामा माछाका आहारा किरा खोज्ने र मिसिएको ठाउँ आसपास माछा मार्ने योजना थियो । तर, न त्यहाँ मारिएका माछा उनीहरूले खान पाए, न घरसम्म ल्याउन पाए । अनिलले घरबाट लगेका रोटीसमेत खान पाएनन् । बिहान उमंगमा गएको छोरालाई परिवारले फेरि देख्नै पाएन ।

अनिल घरका एक्लो छोरा हुन् । ७० वर्षीय बाबु र तीन जना दिदीबहिनी छन् । आमा सानो छँदै बितिन् । घटनापछि परिवारका सबै सदस्य विक्षिप्त छन् । अनिलसँगै माछा मार्न गएका अर्जुन भनेर चिनिने २३ वर्षीय लोकबहादुर घर्तीको घरमा पनि उस्तै बज्रपात परेको छ । डेढ वर्षीय छोराका बाबु लोकबहादुर त माछा मार्न भनी हिँडिसकेपछि बाटैबाट फर्केरसमेत आएका थिए । श्रीमतीलाई ‘आज जाँगर लागेन, जान्नँ’ पनि भनेका थिए । फेरि साथीभाइको सल्लाहमा गए । दोहोर्‍याएर गएका उनी आखिरीमा फर्केरै आएनन् । अनिल र लोकबहादुरका बुबाहरू दाजुभाइ हुन् ।

सँगै गएका साथीहरूका अनुसार त्यस दिन स्यार्पुताल पुगेपछि कोही बल्छी थाप्न थाले त कोही माछाका आहारा खोज्न थाले । कोही तालमा पौडिन थाले । सँगै गएका गाउँका १५ वर्षीय बालक कमल तालमा पौडी खेलिरहेका थिए । उनी एक्कासि ‘मलाई गाह्रो भयो’ भनेर कराउन थाले । उनी चिच्याएको सुनेर अनिल तालमा पसे र कमललाई तानेर किनारतिर ल्याउँदै शशि पुनलाई जिम्मा लगाए । कमललाई तानेर शशि तालबाट निस्किए । तर, अनिल भने निस्किन सकेनन् ।

अनिलले ‘असजिलो भएको’ भन्दै आफूलाई बचाउन चिच्याएपछि लोकबहादुर तालमै मिसिने खोलामा पसे । तालमा पुगेर धेरैबेर खोजे पनि । तर न अनिलको उद्धार गर्न सके न त आफू नै बाहिर आउन सके । अनिललाई खोज्ने क्रममै लोकबहादुरको पनि ज्यान गयो । लोकबहादुरको शव त्यही दिन नै भेटिएको थियो । भोलिपल्ट पोस्टमार्टमपछि उनको दाहसंस्कार गरिएको थियो । अनिलको शव शनिबार भेटियो । पोस्टमार्टमपछि आइतबार उनको दाहसंस्कार गरिएको छ ।

दुई युवाको मृत्युले गाउँ शोकमग्न छ । ‘अरूलाई बचाउने प्रयासमा यी दुई जनाले ज्यान दिए,’ बाल विकास आधारभूत विद्यालय वडगाउँका शिक्षक सुकराम देवकोटाले भने, ‘गाउँका आसलाग्दा युवाले अकालमै ज्यान गुमाए ।’ अनिल भलिबल राम्रा खेलाडी हुन् । उनीहरू गाउँका हरेक सामाजिक काममा अघि लाग्थे । वडाध्यक्ष कस्तूपप्रकाश दाहालले होनहार युवाको निधनले गाउँलाई नै ठूलो क्षति पुगेको बताए । कान्तिपुर दैनिकमा हरि गौतमले खबर लेखेका छन्

विज्ञापन